प्रशान्त निराैला , ७ पटक हेरिएको
काठमाडौं, २४ माघ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा ललितपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणाले आगामी निर्वाचनमा काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई उनकै नाममा भोट माग्न आग्रह गर्नुभएको छ ।
ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यो निर्वाचन कुनै एक व्यक्तिको मात्र जित–हारको लडाइँ नभई गगन थापालाई प्रधानमन्त्री बनाउँदै देशमा परिवर्तन ल्याउने अभियान भएको बताउनुभयो । काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा घोषणा गरेर अघि बढिसकेको उल्लेख गर्दै उहाँले अब “गगनका सरकार” भन्दै जनतामाझ जान कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
सहमहामन्त्री राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा सीमित नभई टुँडिखेलजस्ता सार्वजनिक स्थलमा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र नीति, कृषि, पर्यटन र जलस्रोतका विषयमा खुला बहस गर्न अन्य नेताहरूलाई चुनौती दिनुभयो ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति टिप्पणी गर्दै उनीहरू नयाँ शक्ति नभई पुरानै अनुहार भएको दाबी गर्नुभयो । रास्वपा दुई पटक सरकारमा सहभागी भइसकेको र त्यसका सभापति दुई पटक गृहमन्त्री बनिसकेको उल्लेख गर्दै “उनीहरू कसरी नयाँ भए?” भन्ने प्रश्न उठाउनुभयो । साथै, रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानुनी विवादको प्रसंग उठाउँदै विवादित नेतृत्वले देशमा वास्तविक परिवर्तन ल्याउन नसक्ने ठोकुवा गर्नुभयो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भनेको स्मरण गराउँदै राणाले वर्तमान युवा उम्मेदवारहरूले त्यसलाई किन स्वीकार नगरेको भनी प्रश्न गर्नुभयो । “फेसबुकबाट मात्र देश चल्दैन, जनताको माझ आएर आफ्ना नीति र दृष्टिकोण राख्नुपर्छ,” उहाँले भन्नुभयो ।
‘जेन–जी’ आन्दोलनपछि नेपाली काँग्रेसले आफूलाई रूपान्तरण गरेको दाबी गर्दै राणाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनलाई काँग्रेसको ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले नेपाली काँग्रेस अब सबैभन्दा पुरानो मात्र होइन, सबैभन्दा नयाँ र नवीन सोच बोकेको पार्टी बनेको दाबी गर्नुभयो ।
प्रकाशित मिति: २०२६-०२-०७ , समय : १२:५०:१७ , ४ घन्टा अगाडि