लेटाङमा एसईई नतिजा निरासाजनक: सामुदायिक विद्यालयहरूको शिक्षा स्तरमा गम्भीर प्रश्नचिन्ह

प्रशान्त निरौला , २७८  पटक हेरिएको

लेटाङ, (मोरङ)१८ असार । लेटाङमा यस वर्षको एसईई  नतिजा सार्वजनिक भएपछि अभिभावकहरूको मनमा गम्भीर चिन्ता उत्पन्न भएको छ। कुल ३५ प्रतिशत मात्र विद्यार्थीहरू उत्तीर्ण भएका छन्, जसमा सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्तै निराशाजनक रहेको छ। यसले सामुदायिक विद्यालयहरूको शिक्षा स्तरप्रति गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।

सामुदायिक विद्यालयहरूमध्ये शिक्षा विकास विद्यालयमा ५५ जनामध्ये १४ जना, शान्ति भगवती विद्यालयमा ११४ जनामध्ये ६१ जना, महाभारत मावि विद्यालयमा ३० जनामध्ये ६ जना, जाँते मावि विद्यालयमा ५५ जनामध्ये २ जना, श्रीमावि जाँते विद्यालयमा ५६ जनामध्ये १८ जना, लक्ष्मी मावि लेटाङ २ विद्यालयमा ९० जनामध्ये १७ जना, महेन्द्र मावि विद्यालयमा ४४ जनामध्ये ३ जना, लक्ष्मी मावि विद्यालयमा १५ जनामध्ये कुनै पनि उत्तीर्ण भएनन्। साग्मा मावि र भोगटेनी मावि विद्यालयहरूबाट १९(१९ जना विद्यार्थीहरूद्वारा परीक्षा दिएकोमा कसैले पनि उत्तीर्ण गर्न सकेनन्।

यता, संस्थागत विद्यालयहरूको नतिजा भने तुलनात्मक रूपमा धेरै राम्रो देखियो। ग्रीन भ्याल्ली एकाडेमीमा ३८ जनामध्ये ३२ जना, टेन्डर बोडिङमा ९ जनामध्ये सबै जना, नोवेल एजुकेशनमा २५ जनामध्ये २४ जना, पव्लिकमा १३ जनामध्ये ६ जना, लिटल फ्लावरमा १४ जनामध्ये १० जना, मिनर्वामा ७ जनामध्ये ५ जना, जाँते नमुनामा २८ जनामध्ये २३ जना उत्तीर्ण भएका छन्।

यसले सामुदायिक र संस्थागत विद्यालयहरू बीचको विशाल खाडललाई स्पष्ट पार्दछ। शिक्षामा यस्तो विषमताले गर्दा लेटाङका विद्यार्थीहरूको भविष्य अन्योलमा पर्न सक्ने खतरा बढेको छ। सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्तै निराशाजनक हुनुको पछाडि विभिन्न कारणहरू हुनसक्छन्, जस्तै शिक्षण विधिमा कमजोरी, स्रोतसाधनहरूको अभाव, शिक्षकहरूको दक्षता र उत्साहको कमी, र विद्यार्थीहरूको पठनपाठनमा समर्पणको कमी।

अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरूको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, ूहाम्रो मुख्य आशा सामुदायिक विद्यालयमा छ, तर नतिजा यति कमजोर भएपछि हामी के गरौँरुू अभिभावकहरूले सरकार र सम्बन्धित निकायहरूलाई सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार्न ठोस कदम चाल्न आग्रह गरेका छन्।

सरकारले सामुदायिक विद्यालयहरूको शिक्षा स्तर उकास्न प्रभावकारी योजना ल्याउनु पर्छ। शिक्षकहरूको नियमित तालिम, स्रोतसाधनहरूको व्यवस्थापन, र विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। शिक्षा क्षेत्रमा यस्तो विषमता रहिरहेमा, भविष्यमा यसले समाजमा ठूलो असन्तुलन र अन्योल सिर्जना गर्न सक्नेछ।

सामुदायिक विद्यालयहरूको शिक्षा स्तरमा सुधार ल्याउन सकेमा मात्र लेटाङका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सकिन्छ। सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै, अभिभावकहरू र सम्पूर्ण समाजले यस समस्याको समाधानको लागि एकजुट भएर अघि बढ्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: २०२४-०७-०२ , समय : १५:०१:०२ , १ वर्ष अगाडि