ब्यब्स्थित बिराटनगर बनाउने अभियान जारी

ईनेपालपत्र समाचारदाता , ४०२  पटक हेरिएको

बिराटनगर २ माघ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगरका मेयर नागेश कोइराला नेतृत्वको टोलीले आज पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको छ । अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, महानगरपालिकाका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले भोलिदेखि सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिनुभयो । उहाँले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न आग्रहसमेत गर्नुभयो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान नराख्न व्यापारीहरुलाई अपिल गर्नुभएको छ । त्यस्तै टोलीले महानगर क्षेत्रभित्र सञ्चालनमा ल्याउन लागेको पार्किङस्थलको पनि निरीक्षण गरेको थियो । महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोशी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर, पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको निरीक्षण गरेर महानगर प्रहरीसित पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो । त्यस्तै हिमालय रोडमा रहेको सपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ । ट्राफिक चोकमा रहेका मोचीहरुलाई पनि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको मेयर कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १९:४३:३२ , ३ वर्ष अगाडि