संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा ९९ चिनियाँ नागरिक पक्राउ

Enepal Patra Pvt. Ltd. , ६०९  पटक हेरिएको

काठमाडौँ, ७  पुस । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ९९ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
आज प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद रहेको जानकारी दिनुभयो ।
उहाँले तीन स्थानबाट ९९ जना पक्राउ गरिएको स्पष्ट पार्दै चावहिल, बौद्ध र कोटेश्वरक्षेत्रमा बसोवास गरी रहेका चिनियाँ नागरिकमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।
सिंगो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका हुन ।
सोही सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त रुपमा छापा मारेको हो । विस्तृत अनुसन्धान हुन बाँकी नै छ महाशाखा प्रमुख थापाले भन्नुभयो–संगठित बसोवास हेर्दा गलत क्रियाकलापका लागि हुन सक्ने देखिन्छ ।
प्रायः सबैसँग ल्यापटप भेटिनुले प्रहरीलाई ह्याकरको आशंकामा थप सशंकित बनाएको छ । कतिपयको भिषा समय अवधि समेत समाप्त भइसकेको अवस्थामा छ । तर पनि उनीहरु लुकिछिपि बस्दै आएको भनाई प्रहरीको छ ।
पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रुपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिए पनि कम्पनीहरू भने खुलाएको छैन ।

प्रकाशित मिति: २०१९-१२-२३ , समय : १९:५०:३५ , ४ वर्ष अगाडि