हाम्रो समाचारदाता , ३५२ पटक हेरिएको
ब्रम्हदेब यादव
विराटनगर ३१ साउन । कोसी अस्पतालमा ४० बेडको इमरजेन्सी कक्ष संचालनमा आएको छ । जुन विराटनगरको निजी मात्रै होइन सरकारी क्षेत्रको सबैभन्दा ठूलो इमरजेन्सी कक्ष हो ।
यसअघि अस्पतालमा २० बेडको इमरजेन्सी कक्ष थियो । अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलको विशेष पहलकदमीमा इमरजेन्सी कक्षको मुहार नै परिवर्तन गरिएको हो ।
अस्पतालको इमरजेन्सी कक्षको पूर्वतर्फको भवनको तल्लो भागलाई फोडेर निर्माण पुरा भएपछि ४० बेडको सुविधा सम्पन्न कक्ष संचालनमा ल्याइएको हो। जुन इमरजेन्सी कक्षबाट प्रत्येक दिन सयौं जनाले दक्ष चिकित्सकदेखि मेडिकल अधिकृतबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा सरकारी स्तरबाट संचालित इमरजेन्सी कक्ष सुविधा सम्पन्न नभएको र प्राथमिक उपचार नै नपाएर विरामीको मृत्यु हुने जनगुनासो बढेपछि मेसु डा. खरेलको अग्रसरतामा संघीय, प्रदेश र स्थानीय तह सरकारको जनगुनासोलाई सधैँका लागि सम्बोधन गर्ने गरी सुविधा सम्पन्न इमरजेन्सी कक्ष संचालनमा ल्याइएको हो ।
सरकारले ०७९/८० देखि निजी क्षेत्रबाट संचालित अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम हटाएपछि साउन १ गतेदेखि कोसी अस्पतालमा प्रत्येक दिन १ हजार ५ सयको
हाराहारीमा सर्वसाधारणले बहिरङ्ग सेवाबाट उपचार सेवा लिइरहेका थिए । कोशी यतिखेर इमरजेन्सी कक्षसहित ४ सय बेडको अस्पताल हो । ४ सय बेडको अस्पताल संचालनका लागि १ हजार जनशक्तिको आवश्यकता पर्छ तर अस्पतालमा ५ सयको हाराहारीमा मात्रै जनशक्ति रहेको र त्यही जनशक्तिबाट प्रत्येक दिन उपचार सेवा लिन आउने १ हजार ५ सय जनालाई उपचार सेवा प्रदान गरिरहेको डा. खरेलले बताए ।
कोसी १ नं. प्रदेशको राजधानी विराटनगरको सबैभन्दा ठूलो अस्पताल हो। जुन अस्पताललाई सरकारले ५ सय बेडको शिक्षण अस्पताल बनाउने तयारी गरेको छ । जसका लागि १ हजार २ सय जनशक्तिको आवश्यकता पर्ने र कोसी अस्पताल विकास समितिले २ सय कर्मचारीको नाम पठाएपनि अनुमोदन भएको छैन ।
कोसीमा सबै प्रकारको रोगको उपचार हुन्छ ।
प्रकाशित मिति: २०२२-०८-१६ , समय : १६:४७:१६ , ३ वर्ष अगाडि