हजुरबा, छोरा र नाति (तीन पुस्ता) सँगै नौमति बाजा बजाउँदै

नौमति बाजाको संरक्षण जुट्यो , सम्झना कलव

Enepal Patra Pvt. Ltd. , १३२६  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ),१ पुस । मोरङको पथरीशनिश्चरे १ का ७४ वर्षीय तेजबहादुर वर्देवाले नौमति बाजा बजाउन थाल्नु भएको ६४ वर्षभयो ।
७ वर्षको उमेरमा आफ्ना बुवासँग सहनाई फुक्न सिक्नु भएका तेजबहादुरको हहिले कपाल फुलिसक्यो । अनुहारमा मुजा परिसक्यो । दाँतले पनि त्यति भर गर्दैन तर पनि अझै पनि उहाँ अरु कुनै ठिटा भन्दा कम हुनुहुन्न । उहाँमा एउटा फरक विशेषता छ । सहनाई, नरसिंहा,दमाहा, ट्याम्को ढोलकी,झ्याम्टा र करनाल सबै बाजा बजाउन उहाँ सिपालु हुनुहुन्छ । उमेरमा उहाँ दुईवटा नरसिंहा एकै पटक बजाउनु हुन्थ्यो ।
मोरङको पथरीशनिश्चरे क्षेत्रमा पञ्चेबाजा र नौमति बाजाको संरक्षण र जगेर्ना गर्न यतिबेला तेजबहादुर बर्देवाको सम्झना क्लव सक्रिय छ । पछिल्लो १० वर्षयता उहाँको समूहलाई बिबाहको लगन भएका महिनामा भ्याई नभ्याई हुने गरेको छ । अझ रोचक कुरा त उहाँका छोरा र नातिले पनि तेजबहादुरलाई भरपुर सहयोग गर्नु भएको छ । उहाँका छोरा दिलकुमार बर्देवा अहिले ४८ वर्षको हुनुभयो । हजुरबुवा सँगै बाजा बजाउन सिक्न् भएका दिलकुमार पनि बुबा जस्तै सबै बाजा बजाउन खप्पिस हुनुहुन्छ । तेजबहादुरका नाति रमेश दमाहा बजाउन सिपालु हुनुहुन्छ । ३० वर्षीय रमेशले एसएलसी पास गरी १२ कक्षा सम्म अध्ययन गर्नुभयो । तर, रोजगार पाउनु भएन । कमजोर आर्थिक अवस्थाका कारण थप पढ्न नपाएपछि उहाँ पनि नौमति बाजा बजाउन बुबा र हजुरबुवाको पछि लाग्नु भयो । उहाँले पनि बाजा बजाउन थालेको १० वर्ष पुराभयो ।
२८ वर्षीय विवेक नेपाली २८ वर्षको हुनुभयो । नरसिंहा र सहनाई बाहेक सबै बाजा बजाउन सिपालु विवेकलाई सुरु सुरुमा बाजा बजाउन हिड्दा लाज लाग्थ्यो । तर,अहिले आफ्नो सांस्कृतिक परम्पराको रक्षा आफैले गर्नु पर्ने बुझेपछि विवेक कुनै अवसर छुटाउनु हुन्न । नरेन्द्र नेपाली ३८ वर्षको हुनुभयो । उहाँले भन्नुभयो – पिता पुर्खाले गरिआएको काम छोडेर हामी बरालिएछौं । सांस्कृतिक हस्तक्षेप विरुद्ध नौमति बाजा ब्युतिताउने अभियानमा लागेको नरेन्द्रले बताउनु भयो ।
७० वर्षीय होमनाथ दास ६÷७ वर्षयता नौमति बाजा बजाउन हिड्नुहुन्छ । सिलाई कटाईमा खप्पिस दास उमेर ढल्कदै गएपछि नौमति बाजाको जगेर्ना अभियानमा लाग्नु भएको हो । उहाँले भन्नुभयो– पहिले लुगा सिलाउँथे । आखाँको ज्योति कमजोर हुँदै गयो । मैले विकल्प खोजिरहेको थिएँ । त्यही बेला साथीहरूले साथ माग्नुभयो । अचेल उहाँ सहनाई बजाएर समूहलाई साथ दिइरहनु भएको छ ।
टङ्क दर्जी सिलाईको कामसँगै नौमति बाजा बजाउन हिड्नु हुन्छ । सानै उमेरमा बुबासँग हिड्दा हिड्दै दमाहा र नरसिंहा बजाउन सिक्नु् भएका दर्जी ५८ वर्षको हुनुभयो । बाजा लोप हुन लागेको थियो , त्यसैले हामी सङ्ठित भएर नौमति र पञ्चेवाजाको जगेर्ना गरिरहेका छौं । उहाँले भन्नुभयो ।
पथरीशनिश्चरे क्षेत्रमा ५ वटा समूले बाजाको संरक्षण गरिरहेका छन् । सामान्यता एउटा बिबाहमा २२ हजार देखि ३० हजार रुपियाँ सम्म लिने गरेको दिलकुमार बर्देवाले बताउनु भयो । बिबाह , ब्रतबन्धमा मात्रै होइन । पछिल्लो समय पुराण , उद्घाटन , शिलान्यास समारोह र ठूलो नेता तथा राष्ट्रध्यक्षहरूको स्वागतमा पनि नौमति बाजाको प्रयोग हुन थालेको छ ।

प्रकाशित मिति: २०१९-१२-१७ , समय : १४:०१:१८ , ४ वर्ष अगाडि