घाँस प्रजातिका बनस्पति बढ्न नपाउँदै काटिन्छन्

hari , ५८२  पटक हेरिएको

जङ्गलबाट बाख्रालाई घाँस लिएर फर्कदै स्थानीय बाख्रापालक किसान

कानेपोखरी, ७ बैशाख । पूर्वी मोरङका राष्ट्रिय बन र सामूदायिक वनमा घाँस प्रजातिका बनस्पतिहरू सङ्कटमा पर्दै गएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान नै काटेर लान थालेपछि बनमा साज,टाँटरी,कुसुम,कुम्भी प्रजातिका रुख बिरुवा देखिन छोडेका छन् । ठूलो रुख नहुने साना साना प्रजातिका कुट्मिरो,औलिया,रनबाँस अझ बढी सङ्कटमा परेका छन् ।
२० वर्ष अघिसम्म जङ्गलमा जताततै पाइने कुसुम र साज कानेपोखरी–लेटाङ क्षेत्रको जङ्गलमा पाइन छोडेको छ । टाँटरी र कुम्भी पनि क्रमस दुर्लभ हुँदै गएको कानेपोखरी –७ का पदमप्रसाद कोइरालाले बताउनु भयो । ४८ वर्षीय कोइरालाले भन्नुभयो– हामी बिद्यालय पढ्दा टिफिनमा खाजा नै कुसुम,फडिरको खान्थ्यौं । अहिले पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फ कुसुम, टाँटरी र साज छैन । ब्यावसायिक बाख्रापालन अभियान सुरु भएपछि जथाभावि बिरुवा काटिन थालेको जानकारहरू बताउँछन् ।
कानेपोखरी दक्षिणका गाउँहरूबाट उत्तर तर्फको जङ्गलमा लेटाङ उत्तरका गाउँहरूबाट दक्षिणको जङ्गलमा दैनिक ४ सय बढी साइकल घास लिन जाने गर्छन् । बाख्रापालनका लागि घाँसको ब्यवस्थापन जङ्गलबाटै गर्ने हो । तर,जङ्गलका ठूला रुखबाट घाँस झार्ने भन्दा साना बुट्यान नै काटेर ल्याउने गर्दा जङ्गलमा घाँस प्रजाति बनस्पति सकिदै गएको कानेपोखरी–७ का खगेन्द्र तिम्सिनाले बताउनु भयो । जङ्गलबाट घाँस ल्याएर बाख्रापालन गर्दा कानेपाखरी क्षेत्रका किसानले वार्षिक २ करोड आम्दानी लिनसक्लान । तर, भाबी पुस्ताले अर्बौंको क्षति ब्योहोर्नु परिरहेको छ ।
कानेपाखरी– ७ को ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष नबीन राई जथाभावी घाँस ल्याउने ब्यवस्थालाई नियन्त्रण गर्न आवश्यक भइसकेको बताउनु हुन्छ । उहाँले भन्नुभयो–घाँसै त हो नि । किन ल्याउन पाइन्न भनेर धेरै पटक उपभोक्ताहरू रिसाउनु भएको छ । तर, ठूला रुखका हाँगा काटेर ल्याउनु पर्छ भन्ने चेतनाको बिकास भएन । उहाँले उपभोक्तालाई पटक पटक सम्झाएको बताउनु भयो ।
घाँस काट्नेले मात्र होइन । सालका पात टिप्नेहरूले समेत सालका पोथ्रा ढाल्दै पात टिपेर सडक किनारमा बिक्री गर्ने गरेको पाइएको छ । सामूदायिक वनका एक रुघाँलुले भन्नुभयो–जङ्गलमा सखुवाका पोथ्रा काटेर पात टिप्ने अनि पछि आएर घाँस भित्र हालेर पोथ्रा लैजाने क्रम बढेको छ । हामीले धेरै जनालाई सचेत गराएका छौं ।

प्रकाशित मिति: २०२२-०४-२० , समय : ०९:१६:४० , २ वर्ष अगाडि