बलात्कारपछि बालिकाको हत्याको आक्रोसमा पीडक गिरिको घरमा आगजनी

Enepal Patra Pvt. Ltd. , १७१  पटक हेरिएको

लेटाङ, १७ फागुन । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षिया करुणा राईको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न पीडकको घरमा सोमबार दिउँसो स्थानीयले आगजनी गरिदिएका छन् ।

घटनालाई लिएर आक्रोसित बनेको २५–३० जनाको समूहले घटनामा संलग्न लेटाङ–८ का ६४ वर्षिय दीपक गिरीको खाली घरमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट फुसको छानो भएको र बाँसको टाटीबेरा लगाएर बनाइएको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेका केही लत्ताकपडा पनि जलेका छन् ।

अन्नपात लगायत अरु धनमाल यसअघि नै निकालेर गिरीका छोराले लगिसकेका कारण घर खाली रहेकाले आगजनीमा ठूलो क्षति भने हुन नपाएको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए। गिरी अहिले प्रहरी हिरासतमा छन्। उनी यसअघि सोही घरमा बस्दै आएका थिए। प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सुकुम्बासी जीवन बिताइरहेका गिरीको पुरानो घरको छेउमै नगरपालिकासँग सहयोग लिएर र आफै रकम संकलन गरेर स्थानीय युवा अभियन्ताले नयाँ घर पनि बनाइदिँदै थिए। घरको पिलर उठाइसकिएको थियो। घरका लागि उपलब्ध गराइएको कर्कटपाता भने नगरपालिकाले यसअघि नै जफत गरिसकेको वडाध्यक्ष पोखरेलले बताए।

उनका अनुसार गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो। उनका एक छोरा र एक छोरी छन्। छोरी बिहे गरेर गइसकेको र छोराले गाउँमै ट्याक्टर चालकको काम गर्दै आएको वडाध्यक्ष पोखरेलले बताए। उनका अनुसार घरमा लगाइएको आगो शिवशक्ति सामुदायिक वनमा फैलने खतरा बढेपछि दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। ‘पीडित पक्ष आक्रोसित बनेर यसअघि नै घरमा आगो लगाउन खोजेका थिए,’ पोखरेलले भने, ‘सम्झाईबुझाई गरेर रोक्ने काम भइरहेको थियो।’

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका करुणालाई नियन्त्रणमा लिएर बलात्कार गर्दै गिरीले गत बुधबार हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। लालहीरा सामुदायिक वनको खोचमा फ्यालेर माथिबाट ढुंगाले छोपेको अवस्थामा उनको शव गत शुक्रबार फेला परेको थियो। बालिकाको घरबाट विद्यालयसम्म पुग्न झन्डै २ घण्टा पैदल जंगलको बाटो हिँड्नुपर्छ।

विद्यालयबाट एक्लै घर फर्किदै गर्दा गिरीले बालिकालाई फकाएर अर्को बाटो लग्दै जंगलको बीचमा पुर्याएपछि बलात्कार गरेर हत्या गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। ‘जंगलको बीचमा लगेर शारीरिक सम्पर्कको प्रस्ताव राख्दा नमानेकी बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर भुइँमा लडाई बलात्कार गरेको पाइयो,’ उनले भने, ‘बालिकाले बुवालाई भनिदिन्छु भनेपछि नियन्त्रणमा लिँदै गिरीले घाँटी थिचेर र मुख थुनेर हत्या गरी शव फ्यालिदिएको पत्ता लागेको छ।’

घटनाको विरोधमा करुणा अध्ययनरत विद्यालयका विद्यार्थी र शिक्षकले लेटाङमा केही दिनदेखि प्रदर्शन गर्दै आएका थिए। घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग उनीहरुको छ।

प्रकाशित मिति: २०२२-०३-०१ , समय : १३:०८:२८ , २ वर्ष अगाडि