हिउँ फाल्न सुरु, हेलिकोप्टरबाट लगेको मोटरले काम गरेन

Enepal Patra Pvt. Ltd. , ६०५  पटक हेरिएको

राजन रावत
सिमकोट मंङ्सिर २९ गते । दुई दिनको लगातार हिमपात पछि शनिबार आकाश खुल्दा बिमान स्थलको हिउँ पन्छाउने कार्य सुरु भएको छ । हिमापातको कारण तीन दिन लगातार हवाई सेवा बन्द भएपछि बिमान स्थलको हिउँ फाल्ने कार्य सुरु गरिएको हो ।
बिहान ११ बजेबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुले सिमकोट स्थलको हिउँ फाल्ने कार्य सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज हमालले बताउनुभयो ।
सो कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी हमाल, प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह लगाएतका प्रहरी तथा सेनाका अधिकारीहरुले नेतृत्व गरि रहनुभएको छ । बिमान स्थलमा डेढ फिट बाक्लो हिउँ जमेको कारण हिउँ फाल्न कठिन भैरहेको छ । तर पनि बिमान स्थलको एप्रोनको हिउँ पन्छाएर हेलिकोप्टरसम्म ल्याण्ड गराउन सकिने गरि हिउँ फाल्ने कार्य भैरहेको छ ।
हउँ फाले पछि आजै हेलिकोप्टरलाई उद्धारको लागि बोलाइएको छ । रन वेको हिउँ फाल्ने कार्य भने सुरु भएको छैन् । यसैबीच बिमान स्थलमा जम्ने हिउँ पन्छाउनका लागि हेलिकोप्टरबाट ल्याईएको गाडी बिग्रिए पछि हिउँ फाल्ने कार्य मानिसबाट गर्नु परेको हो ।
हिउँ फाल्ने गाडी बिमान स्थलले तयारी अबस्थामा राख्नु पर्नेमा त्यसो नगरिएको पाईएको छ । यसले गर्दा पनि सिमकोट बिमान स्थल सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति: २०१९-१२-१४ , समय : १६:३३:५० , ४ वर्ष अगाडि