ताराखोलाको आफ्नै पाठ्यक्रम

Enepal Patra Pvt. Ltd. , १०३७  पटक हेरिएको

बागलुङ, २५ माघ । विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।

पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ ।

अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार पारिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विज्ञसहितको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँकै संयोजकत्वमा गठित स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक कार्यदलले पाठ्यक्रमलाई अन्तिम रुप दिएको हो ।

अध्यक्ष घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाइ पक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

“यस पाठ्यक्रमबाट हाम्रा बालबालिकाले आफ्नो गाउँठाउँका विविध पक्षबारे वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन्”, उहाँले भन्नुभयो, “दक्ष, सचेत र इमान्दार शैक्षिक जनशक्ति उत्पादनमा स्थानीय पाठ्यक्रमको महत्व छ ।”

भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

पाठ्यक्रमको सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गर्नुभएको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नै पाठ्यक्रम तयार गरी लागू गरिसकेका छन् । सबैभन्दा पहिले तमाखोला गाउँपालिकाले पाठ्यक्रम बनाएको थियो ।

प्रकाशित मिति: २०२२-०२-०८ , समय : १४:०६:३९ , २ वर्ष अगाडि