मदन भण्डारी राजमार्ग निर्माणमा चरम लापरबाहि

बिशन चाम्लिङ राई , २४१  पटक हेरिएको

लेटाङ, २३ पुस । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भईरहेको मदन भण्डारी मार्गको लेटाङ-तुर्के खण्डको निर्माण कार्यमा चरम लापरवाही भएको पाईएको छ ।
लेटाङ नगरपालिका, वडा नं २, किराँतचौकमा निर्माणाधीन एक कल्भर्टको दुबैतिर पर्खाल उठाई दायाँ-बायाँ माटो भर्ने क्रममा भत्किन पुगेकोछ । भत्किएको पर्खाल टालटुल गर्ने र चर्किएको ठाउँमा सिमेन्टले लिप्न लागेको थाह पाएपछी हामी स्थानीयहरुले व्यापक बिरोध गरिरहेका छौं ।
निर्माण कम्पनीका ईन्जिनियर, सरकारी ईन्जिनियरहरु लगायतले दिनहुँजसो चेकजाँच गर्दागर्दै पनि अरबौं लगानीका संरचनाहरु कमजोर बन्नुमा दोषी को? माटो जस्ता बालुवा, कमसल प्रकृतिका ढुंगा गिट्टी हालेरपनी नपुगेर सिमेन्ट समेत बचाउँने तिर ठेकेदारहरु लाग्दा राष्ट्रिय गौरवको आयोजनाको गुणस्तरमा ठूलो प्रश्नचिन्ह खडा भएकोछ । पर्खालमा लगाईएका ढुंगाहरु हातले तान्दा सहजै निस्किन्छन् । करिब तीन हप्तासम्म पनि सिमेन्टले ढुंगा समाउन सकेको छैन । चोईटिएर निस्किएका सिमेन्टका डल्लाहरु मुठ्ठी कस्दा धुलो हुन्छ । यत्रो ठूलो आयोजनामा यति सारो लापरवाही? हामीले निर्माण कार्य तत्काल रोक्न लगाई ठेकेदार कम्पनीका प्रतिनिधि र उसका ईन्जिनियर, सरकारी ईन्जिनियरहरु, जनप्रतिनिधीहरु समेत बोलाई निर्माणस्थलमै छलफल गर्यौं । यथार्थ वस्तुस्थिती देखायौं जनायौं र यथास्थितिमा वा टालटुल मात्रै गरेर निर्माण कार्य अघि बढ्न नदिने अड्डि कस्यौं । सरकारी ईन्जिनियरले कमजोरी भएको पुष्टि गरेकाछन् ।निर्माणक्षले गल्ती भएको स्वीकार गरेकाछन् । अब पुरै संरचना पुनर्निर्माण गरिनुपर्ने हाम्रो जोडदार माग छ, जो मजबुद पनि होस् ।
हाल मदन भन्डारी मार्ग निर्माण कार्य चलिरहेको सबै स्थानहरुका स्थानीयवासीहरु सजग रहन जरुरी देखिन्छ । तलदेखी माथिसम्म ‘सेटिङ’ मिलाएर बाँडिखान पल्केकाहरुले एकले अर्काको बचाउ गर्न सक्छन् । तर जे यथार्थ हो त्यो बोल्न छोड्नु हुदैन । हाम्रो घरबारी मासेर हाम्रै रगत-पसिनाले जम्मा गरेको पैसाबाट बन्न लागेको सडक मजबुद र टिकाउ बनाउन तपाईं-हामी स्थानीयवासीको खबरदारी अनिवार्य भो । अन्यथा राष्ट्रिय गौरवको यो आयोजना “बाह्रबर्षमा उन्यू फुल्यो, गुहुको गन्ध” झैं हुने देखियो ।

प्रकाशित मिति: २०२२-०१-०७ , समय : ०८:५५:४५ , २ वर्ष अगाडि