सहयोग सँगै सहारा खोज्दै भीमबहादुर

Enepal Patra Pvt. Ltd. , ६२२  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी (मोरङ),३१ साउन । पाखुरामा बल हुँदा हाई हाई , बुढेस कालको सहारा छैन् कोही । यो भनाई , मोरङको कानेपोखरी–७ छथरे टोलका ७५ वर्षीय भीमबहादुर राईको जीवनमा ठ्याक्कै मेल खाएको छ ।
पत्नी वियोगपछि भोजपुरको बासिखोराबाट तराई झर्नु भएका भीमबहादुर यति बेला सहाराको खोजीमा हुनुहुन्छ । एक मात्र छोरी अनुको घरमा सहारा लिएर बस्दै आउनु भएका भीमबहादुर यतिबेला सिकिस्त बिरामी हुनुहुन्छ । उमेरमा पाखुरामा बल थियो । त्यसबेला भीमबहादुरलाई सबैले फकाई फकाई काम लगाए । कतिको मा दुई छाक भातको भरमा काम गर्नुभयो । अलि मनकारीहरूले दाम पनि दिए । यतिबेला भीमबहादुरका हात गोडा बसेका छन् । कपाल फुलेर सेताम्मे भएको छ । अनुहार चाउरी परी सकेको छ । मुखमा केही मात्र दाँत बचेका छन् । उमेर चार कोरी पुग्नै लागेपनि उहाँले वृद्धभत्ता पाउनु हुन्न । नेपाल मै जन्मिहुर्की गर्नु भएका राई अझै अनागरिक भएकोले उहाँले सामाजिक सुरक्षा भत्ता नपाउनु भएको हो ।
भीमबहादुर अहिले आँखा पनि देख्नुहुन्न । मुटुको बिरामले थलिनु भएका भीमबहादुरकी छोरी अनुले भन्नुभयो–मेरो पनि घामपानी छल्ने घर बाहेक केही छैन् । गाउँघरमा चन्दा उठाएर उपचार गर्न लग्यौं । पैसा नपुगेपछि फेरि फर्काएर ल्याएका छौं ।
करोडौं धन सम्पत्ति हुने ज्येष्ठ नागरिकहरूले वृद्धभत्ता पाउनु हुन्छ । तर, जो ज्येष्ठ नागरिकले अनिवार्य भत्ता पाउनु पर्ने हो तिनीहरू नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुन्छन् । स्थानीय सामाजिक अगुवा अमृत चेम्जोङले भन्नुभयो–तीनै तहका सरकारले गरिव र निमुखा प्रति सद्भाव देखाउन सकेका छैनन् । मोरङ क्षेत्र नं. ३ का मतदातालाई बिराटनगरको नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले सहुलियतमा उपचार गरिदिन्छ । अति विपन्नलाई निशुल्क उपचार पनि गरिदिन्छ । तर,मतदाता परिचय पत्र नभएकाहरूले उपचार सुबिधा पाउँदैनन् । नागरिकता नभएको ब्यक्तिले मतदाता परिचय पत्र पाउने ब्यवस्था छैन् । गाउँपालिकाले अति विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिदिने ब्यवस्था गरेको छ । भीमबहादुर विपन्न हुनुहुन्छ । उहाँसँग नागरिकता नभएकोले स्वास्थ्य बीमा गर्न पनि पाउनु भएन । छथरे टोलका बासिन्दा भन्छन् – सरकार गरिव विपन्नले उपचार नपाएरै मर्नु पर्ने हो ?

प्रकाशित मिति: २०२१-०८-१५ , समय : १२:२४:१५ , ३ वर्ष अगाडि