कोभिड लक्षणबाट जेफाले क्षेत्रमा २ को मृत्यु

Enepal Patra Pvt. Ltd. , ३७६  पटक हेरिएको

लेटाङ , ९ बैशाख । उत्तरी मोरङको केराबारी २ सिङ्हदेबिमा कोरोना जस्तै देखिने लक्षणबाट २ दिनमा २ जनाको मृत्यु भएको छ ।
सिङ्हदेबि, चिसापानीको माथिल्लो टोलका १ महिला र १ पुरुषको मृत्यु भएको हो । ७१ बर्षिय महिलाको गत शनिवार र ८२ बर्षिय पुरुषको आईतबार बिहान मृत्यु भएको हो । मृत्यु भएका दुबैलाई ज्वरो आउने, छाती दुख्ने समस्या देखिएको केराबारी २ का वडा अध्यक्ष प्रेम बहादुर लिम्बुले जानकारी दिनु भयो । मृतकहरुको कोभिडसम्बन्धी परिक्षण नगरिएको भएता पनि मृतक मध्ये पुरुषको घरका सदस्य १ जनामा एन्टिजिन पोजेटिभ भएर होम क्वारेन्टाईनमा बस्तै आएका छन भने अन्य सदस्यहरुसमेत रुघाखोकी तथा ज्वरो आउने समस्या रहेकोले कोरोना कै कारणले मृत्यु भएको हुन सक्ने अध्यक्ष लिम्बुले बताउनु भएको छ । मृतक दुबैको एउटै टोल हो भने टोल क्षेत्रका अधिकाश घरमा कोभिडसम्बन्धी लक्षणको कारण सुतिरहेको भएपनी के परिक्षण नगरिएकोले के हो भन्ने यकिन गर्न नसकिएको अध्यक्ष लिम्बुको भनाई छ । उहाले अहिले साबिक सिङ्हदेबि वडा नम्बर २, ५, ७, ८ र ९ मा सोही लक्षणको कारण सयौ मान्छेहरु बिरामी रहेको जनाउदै हालसम्म कोभिडसम्बन्धी एन्टिजिन परिक्षण मात्रै गर्दै आईएकोमा पिसिआर परिक्षणको ब्यबस्था गर्न पहल गरिरहेको बताउनु भयो । हालसम्म केराबारी २ नम्बर वडामा कोभिडसम्बन्धि एन्टीजिन पोजेटिभ देखिएका ९ जना बिरामी रहेको र उनिहरु होम आईसोलेसनमा रहेको अध्यक्ष लिम्बुले बताउनु भयो ।
खुल्ला नाका, बिबाह, पास्नी जस्ता कार्यक्रमहरुबाट सङ्क्रमण टोलबस्तिमा फैलिएको हुन सक्ने स्थानिय पर्यटन ब्यबसायी डिल्लीराम शर्माले बताउनु भयो । जेफाले होम स्टेमा मानिसहरुलाई बस्न रोक लगाईएको भएता पनि अन्य कारणबाट वडा बाहिर जाने र आउने क्रम नरोकिदा तथा समुदायमा हुने बिबाह, पास्नी जस्ता कार्यक्रममा मानिसहरुको भिडभाड हुदा सक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने उहाको राय थियो ।
स्थानिय महाभारत जेफाले बचत तथा ऋण सहकारी सस्थाका ब्यबस्थापक मनोज अधिकारीले तिब्र रुपमा सङ्क्रमण बढिरहेकोले यथासक्य स्वाब परिक्षण गर्ने ब्यबस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ । यथासक्य परिक्षणको प्रबन्ध गर्न र पोजेटिभ देखिएकालाई आईसोलेसन सेन्टरमा राखेर अक्सिजनलगायतको ब्यबस्थापन नगरे भयाबह अबस्था आउने भन्दै सम्बन्धित निकायको ध्यानआकर्षण गराउनु भएको छ ।

प्रकाशित मिति: २०२१-०५-२३ , समय : १०:४५:३६ , ३ वर्ष अगाडि