आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको प्रधानमन्त्री ओलीको जिकीर

Enepal Patra Pvt. Ltd. , ४९०  पटक हेरिएको

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो, ‘कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएका हौं । कति दिनमा सक्छौ रु भन्दै हरेक दिनजसो ताकेता गरेर ल्यायौं । ढिलासुस्ती र व्यवधान गर्ने काम अब सहन सकिँदैन ।’

माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने भन्दै उहाँले भन्नुभयो, ‘माथिल्लो तामाकोशीमा एउटा पाइप या एउटा मेसिन के राख्नुपर्ने छ रे । एक वर्षअघि सुनेको त्यही हो, १० महिनाअघि पनि त्यही, ८ महिनाअघि पनि त्यही, ६ महिनाअघि पनि त्यही, ४ महिनाअघि पनि त्यही, दुई महिनाअघि पनि त्यही, अघिल्लो महिना पनि त्यही, अहिले पनि त्यही सुन्नुपरेको छ ।’

ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको भन्दै चेतावनी शैलीमा उहाँले, काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न सक्दैनौं र कसैले गर्छ भने त्यसको क्षतिपूर्तिका लागि तयार हुनुपर्छ भन्नुभयो ।

माथिल्लो तामाकोशीमा दैनिक पाँच करोड नोक्सान भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-१५ , समय : १६:१५:३० , ३ वर्ष अगाडि