Enepal Patra Pvt. Ltd. , ७९४ पटक हेरिएको

लेटाङ, २० चैत । सन २०२० सम्म हात्तीपाइले रोग निवारण कार्यक्रम रहेपनि सबैले औषधी नखाईदिँदा यो कार्यक्रमलाई पुनः निरन्तरता दिइएको छ । नेपालको जोखिममा रहेका ६३ जिल्ला मध्ये ५० जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाउन रोकिएको छ ।
तर, १३ जिल्लामा भने राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । ६ वर्ष सम्म निरन्तर औषधी खुवाइएका जिल्लामा गरिएको सर्वेक्षण फेल भएपछि पुनः औषधी सेवन कार्यक्रम सञ्चालन गरिएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधी बारे नकारात्मक प्रचार बढी भएको छ । तर, यो औषधी पूर्णरुपमा सुरक्षित रहेको स्वास्थ्य साखा प्रमुख महेन्द्र चौधरीले बताउनुभयो । ‘यो औषधी नयाँ होइन, ७४ वर्ष पुरानो औषधी हो । नेपाल सरकारले आफै खरिद गरेर वितरण गरिरहेको छ’उहाँले भन्नुभयो–‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खानुपर्ने औषधी खानुपर्ने सबै मानिसले नखाईदिँदा यो रोगको जोखीम अझैं छ ।’
आज वाट नेपालका १३ जिल्लामा औषधी खुवाउने कार्यक्रम सुरु भए संगै लेटाङ नगरपालिकामा समेत अभियानका रुपमा हात्तीपाईले रोगका विरुद्ध औषधी खुवाईएको लेटाङ नगरपालिका प्रमुख शंकर राईले जानकारी दिनुभयो । ‘आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगर्दा हुने हानी नोक्सानीबारे जनचेतना समेत फैलाईएको मेयर राईले जानकारी दिनुभयो ।
हात्तीपाइले रोगको संक्रमणदर एक प्रतिशत भन्दा कम झार्ने उद्देश्य रहेपनि यस अघि औषधी खुवाएका जिल्लाहरुमा सर्वेक्षण गर्दा एक प्रतिशत भन्दा माथि रोग संक्रमण दर देखिएपछि जोखिममा रहेका जिल्लामा औषधी खुवाउने कार्यक्रमले निरन्तरता पाएको हो ।
हात्तीपाइले लामखुट्टेको टोकाईबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यो रोग जुनसुकै उमेर समुहका व्यक्तिमा पनि हुन सक्छ । हात्तीपाइले रोगका परिजिवी शरीरभित्र भएका मानिसहरु पनि बाहिरबाट हेर्दा स्वस्थनै देखिने तर, रोगका परिजिवीहरुले शरीर भित्रका अंगहरुलाई विस्तारै क्षती पु¥याइरहेको हुन सक्ने स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।
यो औषधी रोगबाट प्रभावित जिल्ला भित्र बसोवास गर्ने दुई वर्ष मुनिका बच्चाहरु, गर्भवती महिलाहरु, सिकिस्त बिरामीहरु र छारे रोगका बिरामिहरु बाहेक सबै व्यक्तिहरुले सेवन गर्नुपर्ने अनिवार्य गरिएको छ ।
औषधी सेवन पश्चात शरीरमा हात्तीपाइले परजिवी भएकाहरुलाई उक्त परजिवीको मृत्यु हुँदा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट डुम्म परे जस्तो हुन सक्छ । तर यस्ता असर एक दुई दिनपछि स्वतः निको भएर जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २०२१-०४-०२ , समय : १६:१३:१२ , ४ वर्ष अगाडि