जनार्दन शर्माको अपिल-सांसदहरू स्वतन्त्र ढंगले छलफलमा जुटौं

Enepal Patra Pvt. Ltd. , ६११  पटक हेरिएको

काठमाण्डौ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका नेता जनार्दन शर्माले जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक रहेको बताएका छन्।

उनले सचिवालय सदस्यबाहेक सांसदहरूले छलफल गर्नुपर्ने पनि उल्लेख गरेका छन्। पार्टी, आन्दोलन र जनताका पक्षमा के गर्दा राम्रो हुन्छ भन्नेबारे स्वतन्त्र रूपले छलफल गर्न उनले अपिल गरेका छन्।

बुधबार फेसबुकमा लेख्दै शर्माले यस्तो छलफल यो वा त्यो नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्ने अर्थमा लिनुपर्ने पनि बताएका छन्। कुनै त्राश र प्रलोभनमा नपर्ने गरी छलफल गरिने उनको भनाइ छ।

यस्तो छ शर्माको अपिल:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ(आफ्ना बुझाइ रहेका छन्।

 

जे भए पनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुनस्स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।

जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महशुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु।

यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएकोसमेत जानकारी गराउँदछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ।

प्रकाशित मिति: २०२१-०३-०३ , समय : ०९:२९:०३ , ३ वर्ष अगाडि