सिंहदेवी माविले वर्षभरि स्वर्ण महाेत्सव मनाउने

Enepal Patra Pvt. Ltd. , ७८८  पटक हेरिएको

कानेपाेखरी,७ फागुन ।सरकारी विद्यालय भनेपछि धेरैले ओठ लेप्राउँछन्।अधिकांशको बुझाइ नै शिक्षकले पढाउँदैनन्,जागिर खान मात्रै जान्छन् भन्ने छ ।तर, माेरङकाे कानेपाेखरी ५ स्थित सिंहदेवी माध्यमिक विद्यालयकि शिक्षिका डम्बरकुमारी गुरुङ वर्षभरिमा एकदिन पनि बिदा नलिई पढाउने शिक्षिकाकाे रुपमा शुक्रबार पुरस्कृत हुनुभयो ।
विद्यालयकाे स्वर्ण महाेत्सव समारोहकाे उद्घाटन समारोहका अवसरमा कानेपाेखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गुरुङलाई पुरस्कार प्रदान गर्नुभयाे । आज उद्घाटन भएको महाेत्सव वर्षभरि मनाएर २०७८ काे फागुन ७ गते सम्पन्न गर्ने कार्यक्रम रहेकाे छ ।साेही अवसरमा विद्यालयकी शिक्षिका दिलकुमारी राई२०७६काे वर्ष शिक्षक घाेषित हुनुभयो ।उहाँलाई अध्यक्ष काफ्लेले पुरस्कार प्रदान गर्नुभयो ।उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष काफ्लेले १०/२० विद्यार्थी लिएर विद्यालय सञ्चालन गर्नु भन्दा विद्यालय मर्ज गरेर चलाउनु उपयुुक्त हुने बताउनु भयो ।उहाँले गाउँपालिकाले चालू आर्थिक वर्षमा १ कराेड रुपैयाँ विद्यालयकाे पुर्वाधार निर्माणमा खर्च गरेको बताउनु भयाे । उद्घाटन कार्यक्रममा ५ नं. वडाका वडाध्यक्ष चरण गुरुङ ,पुर्व प्रधानाध्यापक नरहरि निराैला,ब्यवस्थापन समितिका पुर्व अध्यक्ष तिलक खड्का लगायतले बाेल्नु भएको थियोे ।
स्वर्ण महाेत्सव समारोहकाे पुर्व सन्ध्यामा आज नै तीन वटा अक्षयकोषकाे स्थापना भएको छ ।पुर्व प्रधानाध्यापक इन्द्रबहादुर थापाले आफ्ना बुबाआमाकाे सम्झनामा १ लाख ११ हजार १११ रुपियाँकाे दिलहर्क थापा अक्षयकोष स्थापना गर्नुभयो ।यस्तै साेही वडाका वडाध्यक्ष चरण गुरुङले आफ्नी आमाको स्मृतिमा ५ लाख रुपियाँकाे अक्षयकोष स्थापना गर्नुभयो ।यसैगरी स्थानीय समाजसेवी भाेजराज श्रेष्ठ र भूपाल श्रेष्ठले बुबाको स्मृतिमा ५५ हजार ५५५ रुपियाँकाे सुनकेसर अक्षयकाेष स्थापना गर्नुभयो । तीनवटै अक्षयकोषका सञ्चालकहरूले घाेषणा गर्नु भएको रकम आजै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भाेजराज राईलाई हस्तान्तरण गरिएको छ ।यसअघि विद्यालयमा ८ वटा अक्षयकोष रहेका थिए ।विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उदेश्यले अक्षयकोष गठनमा जाेड दिइएको विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताउनुभयो ।
विद्यालयमा३४० जना विद्यार्थी रहेका छन् भने १४ जना शिक्षक कर्मचारी रहेकाछन् ।विद्यालयमा पुर्व प्राथमिक देखि ५ कक्षा सम्म अंग्रेजी भाषामा पठनपाठन हुने गरेको छ ।
यसैबीच स्वर्ण महाेत्सव मनाउन १९९ सदस्यीय मूल समारोह समिति आज नै गठन भएको छ ।

प्रकाशित मिति: २०२१-०२-१९ , समय : १९:३३:३० , ३ वर्ष अगाडि