आज ७१ औँ प्रजातन्त्र दिवस मनाईदै

Enepal Patra Pvt. Ltd. , ५७२  पटक हेरिएको

काठमान्डाै ७ फागुन ।  नेपालमा आज (शुक्रबार) ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

आजको दिनलाई विक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनलाई परास्त गर्दै प्रजातन्त्र स्थापना भएको सम्झना गरिन्छ । यसदिन मुलुकभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर जनताले मुक्ती पाएको स्मरण गर्ने गरिएको छ । संघीय एवं प्रदेश सरकार, नागरिक समाज, विभिन्न निकाय, पेसाकर्मी, सरकारी तथा गैर सरकारी संघसंस्था र नागरिक तवरबाट प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर विगतदेखि नै मनाउने चलन छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । उनीहरुलाई वीर सहिदका रुपमा सधैँ नेपाली जनताले सम्झने गरेका छन् । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।
एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बीपी (विश्वेश्वरप्रसाद कोइराला)को नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको हो।

प्रकाशित मिति: २०२१-०२-१९ , समय : ११:१४:४५ , ३ वर्ष अगाडि