विदेशको कमाइ विर्सायो च्याउको आम्दानीले

Enepal Patra Pvt. Ltd. , ४६६  पटक हेरिएको

प्रकाशचन्द्र भट्टराई
दमौली, ४ माघ । व्यास नपा–१४ का मखन गुरुङ केही वर्ष अघिसम्म बैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । बैदेशिक रोजगारीकालागि कहिले इराक, कहिले दुबई त कहिले साउदी अरब र मलेसियासम्म पुग्नु भएका उहाँ अहिले भने आफ्नै गाउँमा च्याउ र तरकारी खेतीमा रमाईरहनु भएको छ । ‘लामो समय विदेशमा रोजगारीमा बिताएँ’ उहाँले भन्नुभयो ‘तर स्वदेशको जस्तो कमाई बिदेशमा भएन ।’
मखनले व्यास नपा १३ का साथी टकबहादुर गुरुङसँग मिलेर व्यास नपा १३ को सोंढेमा च्याउ खेती गर्नु भएको छ । टकबहादुरले चार वर्ष अघि देखी गरेको च्याउ खेतीमा मखन दुई वर्ष अघिदेखी मिसिनु भएको हो । यस बाहेक मखनले आफ्नै घर नजिक ३ रोपनी जग्गामा एभोकाडो र तरकारी खेती समेत गर्नु भएको छ ।

सोंढे स्थित बुद्धसिंह मार्गको छेवैमा टकबहादुर र मखनले जग्गा भाडामा लिएर च्याउ खेती भएको छ । पाँच वटा टनेल बनाएर जापानीज ब्ल्यु क्याप र अ‍ेमरिकन ब्ल्यु क्याप जातको च्याउबाट मनग्गे आम्दानी भएको टकबहादुरले बताउनु भयो । एउटा टनेल निर्माण गरि च्याउ उत्पादन गर्दासम्म ९० हजार रुपैयाँ खर्च हुने र त्यसबाट डेढ लाख जति अम्दानी हुने उहाँले बताउनु भयो । पाँच वटा टनेलबाट एक पटक करिब ३ लाख रुपैयाँ जति नाफा हुने उहाँको भनाई छ ।

बर्षा याममा किरा लाग्ने तथा हावा हुरी र पानीले टनेललाई असर गर्ने हुँदा असोजको सुरु देखी चैत मसान्तसम्म मात्र च्याउ लगाउने टकबहादुरले बताउनु भयो । बैशाख देखी असोजम्म धान, मकै, कोदो तथा तरकारी खेतीमा लाग्ने उहाँले बताउनुभयो ।

सिराहा जिल्लाबाट पराल ल्याई त्यसलाई पकाएर कटिङ गरेर पोकारपोका बनाएर टनेल भित्र बनाईएको टाँडमा झुन्ड्याएर च्याउ उत्पादन गरिँदै आएको छ । प्रत्येक टनेलमा १५ दिनको फरकमा च्याउ उमार्ने भएको कारण सिजभर हरेक १५ दिनमा च्याउ विक्री गर्न सकिने उहाँहरुको भनाई छ । उत्पादित च्याउ सदरमुकाम दमौलीमा ल्याई प्रति केजी १ सय ६० रुपैयाँमा थोकमा विक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

विदेशको भन्दा स्वदेशमै राम्रो कमाई भएपछि मखनले बिदेश जाने सोच त्यागी सक्नु भएको छ । बिदेशको भन्दा राम्रो कमाई आफ्नै घरमा बसेर गर्न सकिने भएपछि बिदेश जाने सोच अन्त्य गरेको उहाँ बताउनु हुन्छ । अहिले रोजगारीको लागि बिदेश जाने सोचाईमा रहनु भएका अन्य युवाहरुलाई पनि उक्त सोच अन्त्य गरि व्यवसायीक खेती र पशुपालनमा लाग्दा उपयुक्त हुने उहाँले सुझाव दिनु भएको छ । च्याउ तथा तरकारी खेतीकोलागि अहिलेसम्म कुनै तालिम र प्रशिक्षण नलिएको तर पनि व्यवहारिक प्रयोगले सफल बन्दै गएको उहाँले बताउनु भयो । च्याउ खेतीकोलागि उहाँहरुलाई व्यास नगरपालिकाले बिउमा ५० प्रतिशत अनुदान दिएको छ ।

(गाेरखापत्र अनलाईन वाट)

प्रकाशित मिति: २०२१-०१-१७ , समय : ११:५९:५५ , ३ वर्ष अगाडि