दाहाल–नेपाल समूहमा पनि अल्पमतमा पर्दै पूर्वमाओवादी

Enepal Patra Pvt. Ltd. , ३७१  पटक हेरिएको

 

काठमाडौं, २ माघ । नेकपाको (दाहाल–नेपाल समूह) मा पूर्वमाओवादी अल्पमतमा पर्ने देखिएको छ । यसअघि तत्कालिन एमाले र माओवादी मिलेर नेकपा बन्दाको आधारमा संगठन संरचना टुंग्याउने तयारी भएपछि पूर्वमाओवादी अल्पमतमा पर्ने निश्चित भएको हो ।

नेकपा एकताकै क्रममा देखिएको पोर्टफोलियो र संगठनको संरचना अनुसार अघि बढ्ने पुस १९ गते बसेको समूहको स्थायी समिति बैठकले निर्णय गरेको छ ।

पार्टी एकिकरण प्रकृया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादीले नेतृत्व गरेको पंक्तिलाई यथावत राख्ने गरी विधि र मापदण्ड बनाइएको छ ।

स्थायी समितिले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न कार्यदल बनाएको छ ।

कार्यदलले साविक एमाले र साविक माओवादीले नेतृत्व गरेका सबै तहमा त्यसरी नै संगठनको संरचना तयार गर्ने गरी मापदण्ड बनाएको एक नेताले जानकारी दिए ।

ओली समूहतर्फ लागेकाहरुलाई हटाएर जहाँ जे जस्तो अवस्थामा पार्टी एकिकरणको संरचना बनेको थियो त्यही पदपूर्ति गरिने गरी प्रकृया अघि बढ्न लागेको ति नेताले बताए ।

प्रदेश, जिल्ला समिति र जनसंगठनहरुमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रकृयालाई पूरा गर्ने प्रकृया अघि बढाएको हो ।

दाहाल नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष सचिवहरुको पदपूर्ति गर्ने भएका छन् ।

उनीहरुले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्वएमालेहरुको स्थानमा पूर्व एमालेलाई नै दिने गरी मापदण्ड तय भएको कार्यदलका सदस्यहरु बताउँछन् ।

समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि १२ सदस्यीय कार्यदल गठन गरेको थियो  ।

कार्यदलमा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन् ।

सो कार्यदललाई एक हप्ताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो । सो कार्यदलले बनाएको मापदण्ड अब बस्ने स्थायी कमिटीमा पेश गर्ने तयारी भैरहेको छ ।

प्रकाशित मिति: २०२१-०१-१५ , समय : १३:३४:५१ , ३ वर्ष अगाडि