यसरी हुन्छ सूर्य चिह्नको छिनोफानो !

Enepal Patra Pvt. Ltd. , ७५८  पटक हेरिएको

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र प्रचण्ड पक्षमा विभाजन भएपछि सूर्य चिह्नका लागि तानातान चल्न थालेको छ ।

यसका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेर वैधताको दाबी गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको सिफारिसलाई स्थायी समितिको बहुमत सदस्य हुँदै केन्द्रीय समितिले अनुमोदन गरेपछि सत्तारुढ नेकपा विभाजन भएको हो ।

अब जुन पक्ष आधिकारिक हुन्छ–उसले नै सूर्य चिह्न र नाम पाउनेछ । नेकपा दलको प्रचण्ड पक्षीय केन्द्रीय समितिको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

मंगलबार राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित तीन सय १५ जना केन्द्रीय समितिमध्ये सबैले समर्थन गरेका थिए ।

कारबाहीको पत्र यसअघि नै लीलामणि पोखरेलले निर्वाचन आयोगमा पुगेर बुझाइ सक्नु भएका छन् । उहाँले यसको दर्तासमेत गर्नु भएको छ । नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको बैंकमा चार सय ४७ मध्ये तीन सय १५ जनाको उपस्थिति थियो ।

बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।

प्रचण्ड पक्षको केन्द्रीय समिति बैठक बस्नुअघि ओली पक्षको बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेको थियो । जसमा पार्टी केन्द्रीय समिति विस्तार गरी चार सय ४७ बाट एक हजार एक सय ९९ पुर्याइएको छ ।

पाँच सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ । यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षरसहित पुगेको छ ।

प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा पुगेको भोलिपल्ट ओलीले आफ्नो बहुमत सिद्ध गर्न केन्द्रीय समिति विस्तारको निर्णयको पत्र दर्ता गराउनु भएको हो ।

दुवै पक्षले पत्र दर्ता गरे पनि नेकपाको वैध अध्यक्ष र समिति कुन हुने भन्ने प्रश्न तेर्सिएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउने छ ।

नेकपाको वैध समिति ओली या प्रचण्डमध्ये जसको हुन्छ–झण्डा र चुनाव चिह्न उसको नै हुनेछ । विशेष गरी नेकपाको चुनाव चिह्न सूर्य लिने प्रतिस्पर्धा चलेको छ । एमाले ब्युँताउने गरी ओलीले विगतमै तयारी पूरा गरिसक्नु भएको छ, विमर्शमा उल्लेख छ ।

तर, सूर्य चिह्नमा दुवै पक्षको स्वार्थ छ । यसअघि तत्कालीन एमाले विक्रम सम्वत् २०५४ मा फुट्दा तत्कालीन महासचिव माधव नेपाल पक्षले वैधता पाउँदा सूर्य चिह्न पाएको थियो भने वामदेव गौतम पक्षले पाँच कुने तारा चिह्न खोज्नु परेको थियो ।

 

प्रकाशित मिति: २०२०-१२-२५ , समय : २१:२१:२० , ३ वर्ष अगाडि