राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव आउने बुझेपछि संसद विघटन !

Enepal Patra Pvt. Ltd. , ५४०  पटक हेरिएको

काठमाडौं,५पुस । सत्तारुढ नेकपाभित्रका प्रचण्ड, माधव नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी बुझेपछि सरकारले संसद् विघटनको सिफारिस गरेको खुल्न आएको छ ।
ओली विरोधी समूहले त्यसको लागि हस्ताक्षर गरी संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको थियो ।
राष्ट्रपतिविरुद्ध प्रस्ताव दर्ता गरी निस्क्रिय बनाएपछि उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत आफ्ना योजना पूरा गर्ने दाउमा यो समूह लागेको थियो ।
उक्त सूचना शितल निवास र बालुवाटारमा लिक भएपछि ओलीले आइतबार विहान आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाई विघटन सिफारिस गरेको प्रचण्ड निकट एक नेताले खुलानेपाललाई जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले विघटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको हो । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
नेकपाभित्र चुलिएको विवादसँगै भएको यो निर्णयले मुलुकलाई फेरी अस्थिरतातर्फ धकेलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन माग गर्दै पार्टीका बरिष्ठ नेताहरुले ६ महिनादेखि घेराबन्दी गर्दै आएका थिए ।

प्रकाशित मिति: २०२०-१२-२० , समय : १३:५९:१२ , ३ वर्ष अगाडि