महाधिवेशन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छः डा महत

Enepal Patra Pvt. Ltd. , ६०८  पटक हेरिएको

चितवन ।  नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उहाँको भनाइ थियो ।
सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उहाँले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”
कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोल्नुभएको थियो । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको ¥याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

इलाम– कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको आरोप लगाउनुभएको छ । सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उहाँले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको ¥याली निकालेको थियो ।
रसुवा –प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताउनुभयो । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गर्नुभएको थियो ।

पर्सा– यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । उहाँले संवैधानिक अङ्गलाई कमजोर नबनाउन र प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताउनुभयो ।

कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाउनुभयो ।
राष्ट्रिय झण्डाको दुरुपयोग भनी आपत्ति

सिद्धार्थनगर– पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाउनुभएको छ ।
कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनुभयो ।

कांग्रेस नेता तथा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान सरकारकै कारण सङ्घीय लोकतन्त्र खतरामा पुगेको आरोप लगाउनुभयो ।
कांग्रेसका नेता रामचन्द्र ढकालले राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “राजावादीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै सडकमा तमासा गर्दै हिँडेका छन् तर सरकार आँखा चिम्लिएर बसेको छ ।”

कांग्रेस रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सरकार जनपक्षीय हुन नसकेको बताउनुभयो । विरोधसभामा सांसद प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले सरकारको आलोचना गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-१२-१४ , समय : २०:१७:०१ , ३ वर्ष अगाडि