कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Enepal Patra Pvt. Ltd. , ३२५  पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लामो समयपछि सडकमा निस्किँदै छ । महामारीका समयमा खरिद गरिएको स्वास्थ्यसामग्रीमा भ्रष्टाचार हुँदासमेत सामान्य विज्ञप्तिमा सीमित भएको कांग्रेसले अहिले भने त्यही भ्रष्टाचारको मुद्दा लिएर सडकमा ओर्लिन लागेको हो । मंसिर १७ गते रामचन्द्र पौडेललाई प्रहरीले दुर्व्यवहार गरेपछि आक्रोशित भएको कांग्रेसले अहिले भने प्रतिपक्ष शैलीमै सरकारका हरेक कमजोरीलाई ‘तारो बनाएर’ जनतामा पुर्‍याउने तयारी थालेको हो ।

आज देशभरका ७७ स्थानमा विरोध प्रदर्शनको तयारीमा रहेको कांग्रेसले भ्रातृ संगठनलाई गरेको आह्वानअनुसार आइतबार नेविसंघले सिठी जुलुस प्रदर्शन गरी विद्यार्थी र सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन अपील गरेको हो । आजको विरोध प्रदर्शनलाई सांकेतिकमात्र भनेको कांग्रेसले सकेसम्म बढी मानिसहरुको सहभागिताका लागि गृहकार्य भने गरिरहेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार नै एक वक्तव्य जारी गरी सरकार भ्रष्टाचारमा कीर्तिमानी कायम गरिरहेको र अधिनायकवादको अभ्यासमा रहेको कुरा तथ्यले नै पुष्टि गरिसकेकाले त्यसविरुद्ध सडकमा आउन नेता कार्यकर्तामात्र नभएर सबै लोकतन्त्रप्रेमीलाई आह्वान गरेका छन् । तर, कोरोना जोखिम बढिरहेका बेलाको प्रदर्शनलाई आफ्नो बाध्यता भन्दै कांग्रेसले स्वास्थ्य सुरक्षामा भने विशेष ध्यान दिन आह्वान गरिरहेको छ ।

“सडकमा निस्कँदा मास्कसहित निस्कनु होला, सकेसम्म दुरी कायम गर्ने प्रयास पनि गर्नुहोला,” सहमहामन्त्री डाक्टर प्रकाशरण महतले आह्वान गरेका छन् । सरकारविरुद्ध आजको प्रदर्शन सांकेतिकमात्र भएकाले कांग्रेसले शक्ति प्रदर्शन हुने गरी देशभरको केन्द्रिकृत प्रदर्शनका विषयमा पनि सोचिरहेको छ ।

“कोरोनाको अवस्था हेरेर जिल्लाहरुको कार्यक्रमपछि केन्द्रिकृत कार्यक्रम पनि हुन सक्छ, त्यसपछि हामी महाधिवेशन र सरकारविरुद्धका गतिविधि एकसाथ लिएर जाने छौं,” प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

 

प्रकाशित मिति: २०२०-१२-१४ , समय : १०:१३:२९ , ३ वर्ष अगाडि