गाँजा औषधिदेखि बहुउपयोगी वनस्पति

Enepal Patra Pvt. Ltd. , ६१३  पटक हेरिएको

काठमाडौं, मङ्सिर २७ गते । गाँजालाई कानुनी मान्यता दिइनुपर्ने बहस चलिरहेका बेला गाँजा बहुउपयोगी वनस्पति रहेको तथ्य बाहिर आएको छ ।
नेपालमा धेरै पहिला नै गाँजाको रुखबाट बनेका कपडाहरु भाँग्रोको रुपमा लगाउने प्रचलन थियो । विश्वमा सबैभन्दा मुलायम र शून्य साइड इन्फेक्ट भएको कपडा गाँजाको रेसाबाट बन्ने सांसद शेरबहादुर तामाङले बताउनुभयो । विश्वमा सबैभन्दा धेरै माग नै यो कपडाको छ ।
गाँजाको फलको गेडाबाट तेल निस्कने र यो तेलको माग विश्वमा सबैभन्दा धेरै रहेको उहाँले बताउँदै तेलको लागि समेत गाँजा खेती गर्न सकिने उहाँले बताउनुभयो । गाँजाको बाेटको काठ निक्कै लचक र बलियो हुने भएकाले फर्निचरमा यसको प्रयोग हुने बताउनुभयो ।
गाजाँ खेतीसँगै माहुरी पालन समेत गर्न सकिने भएकाले यसबाट आर्थिक लाभ लिन सकिने उहाँको तर्क छ । उहाँका अनुसार माहुरीले सबैभन्दा धेरै मन पराउने फूल नै गाँजाको भएकाले माहुरी पालन गरेर उच्च कोटीको मह उत्पादन हुने र त्यसको बजारम मूल्य अत्यधिक रहेको उहाँले बताउनुभयो ।

विगतदेखि नै मनोरञ्जनको रुपमा गाँजा खेति हुँदै आएकाले नेपालले यसलाई वैधानिकता दिनु पर्ने भएकाले संसदमा बिधेयक दर्ता गरेको उहाँले बताउनुभयो ।
उहाँले एक जना किसानले दुई रोपनी जग्गामा गाँजा खेती गर्न पाउनुपर्ने गरि प्रस्ताव पेश गरेको बताउँदै बिचौलिया लगायतको समस्या समाधान गर्न गाँजा बोर्ड गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘ हामीले गरिब किसानलाई उत्पादन गर्न लगाउने भएकाले खरिद मूल्य लगायतको काम गाँजा बोर्डले गर्नेछ’ उहाँले थप्नुभयो, स्थानीय तहसम्म बोर्ड गठन गरेर काम थाल्नुपर्छ ।’

उहाँले विदेशी कम्पनीहरुलाई जग्गा भाडामा दिएर गाँजा खेती गर्नेभन्दा पनि गरिब किसानलाई दुई रोपनी जग्गामा र भूमिहीन किसानलाई जग्गा भाडामा दिएर गाँजा खेतीमा लगाउन सकिने बताउनुभयो ।
यसको प्रशाेधन तथा अरु काममा भने विदेशी कम्पनी आउन सक्ने भए पनि उत्पादन भने गरिब किसानले गर्ने उहाँले भन्नुभयो । विश्वका अरु देशमा ग्रिन हाउस बनाएर गाँजा खेती गर्ने गरिएको र नेपालको सबै क्षेत्रमा गाँजा फल्ने भएकाले नेपालको गाँजा हाई क्वालिटीको हुने र गाँजाको प्रतिबन्ध खुलेसँगै उत्साह थपिएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालमा प्राचिनकादेखि गाँजाको प्रयोग हुँदै आएको र यसमा अथाह औषधीय गुण रहेको आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरीले बताउनुभयो । आयुर्वेदमा गाँजाको नाम विजया रहेको उहाँले बताउनुभयो ।
डा.चौधरीका अनुसार औषधीय गुण भएको गाँजाको प्रयोग चिकित्सकको सल्लाह अनुसारमात्रै प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । ‘यसको प्रयोग सही रुपमा प्रयोग नगर्दा यसले असर गर्ने भएकाले चिकित्सकको परामर्श अनिवार्य रुपमा गर्न आवश्यक छ ’ उहाँले थप्नुभयो ।
नेपालको आफ्नै नाम जुन गाँजाबाट बन्ने औषधि थियो ‘तरकिब’ गाँजामा प्रतिबन्ध लागेसँगै रोकिएको उहाँले बताउनुभयो । सिंहदरबार वैद्यखानामा उत्पादित हुने औषधिहरु समेत प्रतिबन्ध लागेसँगै हराएको उहाँले बताउनुभयो ।
गाँजामा प्रतिबन्ध भएसँगै यसबाट निर्मित हुने आयुर्वेदिक औषधिहरु बन्द भएको र त्यसको निक्कै महत्व रहेकाले कानुन कडा पारेर भए पनि गाँजाबाट बन्ने औषधिहरुको प्रयोग गर्न सके धेरै रोगको उपचार हुन सक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आयुर्वेदमा गाँजाबाट कारगार औषधिहरु बन्ने गरेको प्रमाणहरु सुरक्षित रहेको बताउनुभयो । उहाँका अनुसार गाँजाबाट बनेका औषधिहरुले शरिरमा हुने पीडा कम गर्ने, वीर्य स्खलनलाई ढिलो बनाउने, श्वासप्रश्वासका अंङ्गहरुलाई खुलाउने, शरिरका अंङ्गहरुलाई आनन्द पार्ने काम गर्दछ ।

डा.चौधरीका अनुसार गाँजाको महत्व आयुर्वेदमा खाना नरुच्ने, टाउको दुख्ने, कान दुख्ने चिन्ता, नैराश्यता, मानसिक समस्याको समाधानमा यसको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
गाँजा स्त्री र भाङ पुरुष प्रजाति रहेको उहाँले बताउनुभयो । गाँजाको चर्चा भए पनि औषधीय गुणमा भने भाङमा अझै धेरै औषधीय गुण छ । गाँजामा ६० देखि १२५ मिलीग्रामसम्म औषधिय गुण रहेको र भाङमा भने १२५ देखि २५० मिलीग्राम औषधीय गुण रहेको डा.चौधरीले बताउनुभयो ।
गाँजाको उपयोगिता र महत्वलार्ई बुझेर लागुपदार्थबाट जति सक्यो छिटो हटाएर औषधि र अन्य सामग्रीहरू बनाएर प्रयोगमा ल्याउनुपर्ने पं.महेश पौडेलले बताउनुभयो । तर त्यसका लागि कडा कानुन र यसको गलत प्रयोग हुन नदिन सरकार चनाखो बन्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो ।

‘नेपालमा सबैभन्दा पहिला सनातन धर्म प्रचलनमा थियो, सनातन धर्मको सबैभन्दा राम्रो ग्रन्थ भन्नाले चार वेद थियो । चार वेदमध्ये एउटा वेद थियो अथर्ववेद । जसमा वेदव्यासले हजारौँ हजार वर्षअगाडि लेखेको यो किताबमा धेरै किसिमका बोटबिरुवा जडीबुटीहरूको महत्वपूर्ण परिभाषामध्ये एउटा बिरुवा ‘गाँजा’ यसले खुशी दिन्छ, शान्ति दिन्छ, ध्यान दिन्छ, संसारमा खुशी छाउँछ भनेर वेदमा लेखिएको छ’ पं.पौडेलले भन्नुभयो ।

‘सनातन धर्मकै कुरा गर्दाचाहिँ शिव भगवानलाई बिर्सनु हुँदैन’ उहाँले भन्नुभयो । यो कुरा सनातनकालदेखिनै चलिआएको छ,उहाँले थप्नुभयो, ‘भगवान् शिवसँग जोडिएर आउने गाँजालार्ई मानव सृष्टिसँगै देवता र राक्षसबीचको समुद्र मन्थनबाट अमृत निकाल्ने भनेको हलाहल नाउको विष निस्केपछि अब दुवैबीच विवाद उत्पन्न भएको थियो ।’
‘सो समयमै सो विष खाएपछि मृत्यु हुने भयले गर्दा विवाद साम्य बनाउन भगवान् शिवले हलाहल नामको विष सबै खाएर घाँटीमा राखेको हुँदा वहाँँको नाम नीलकण्ठ भोले बाबा हुनगयो’ पौडेलले भन्नुभयो,‘विषको सेवनले गर्दा एकदम छटपटी भएकोले शीतल खोज्दै हिमालएमा बस्न पुगे,त्यसपछि विषको नसालाई मार्न शिवजीले गाँजा प्रयोग गरेको पनि पाइन्छ’ उहाँले थप्नुभयो ।

 

 

प्रकाशित मिति: २०२०-१२-१२ , समय : १९:०६:३० , ३ वर्ष अगाडि