एक महिना मै उक्कियो कालोपत्रे सडक ,स्थानीय आक्रोशित

Enepal Patra Pvt. Ltd. , ७५९  पटक हेरिएको

हरिप्रसाद काेईराला

लेटाङ(मोरङ),२९ साउन । प्रदेश नं. १ को  मुख्यमन्त्री कृषि सडक आयोजना अन्तरगत मोरङको लेटाङ–२ नेत्रचौक देखि न्यौपाने चौक सम्म बनेको  कालोपत्रे सडक एक महिना नपुग्दै उक्किएको छ । प्रदेश नं. १ को पूर्वाधार बिकास कार्यालयले चैतको  पहिलो साता सुनसरीको इटहरीस्थित श्रीकृष्ण निर्माण  सेवालाई सडक कालोपत्रे गर्ने जिम्मा दिएको थियो । ७ सय मिटर लम्बाईको सडक ७ मिटर चोडाई र ३० एमएम
मोटाईको निर्माण गर्ने सम्झौता भएको पूर्वाधार बिकास कार्यालय प्रदेश नं. १ का इन्जिनीयर यामकुमार प्रधानले बताउनु भयो ।

प्रधानका नुसार सडक असार २५ गते पूर्वाधार कार्यालयलाई बुझाउने सम्झौता थियो । पूर्वाधार कार्यालयका इन्जिनीयर प्रधानले दिनु भएको जानकारी अनुसार उक्त सडक मूल्य अभिवृद्धि कर(भ्याट) र निर्माण ब्यवस्थापन शुल्क (कन्टेन्जेन्सी)सहित १ करोड रुपियाँको लागतमा  निर्माण गर्न सकिने विधिक हरुको अनुमान थियो । १ करोडमध्ये २० प्रतिशत स्थानीय नगरपालिका र ८० प्रतिशत मूख्यमन्त्री कृषि सडक आयोजनाले ब्यहोर्ने सहमति भएको थियो । तर, ठेक्का आह्वान गर्दा ६० लाख रुपियाँमा नै श्रीकृष्ण निर्माण सेवाले कालोपत्रे गर्ने भयो । ६० लाखमा नै कालोपत्रे हुने भएपछि नगरपालिकाले २० प्रतिशत लगानी नगरेको लेटाङ नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी पोख्रेलले बताउनु भयो ।

गत असार १७ र १८ गते रातारात कालोपत्रे भएको सडक एक महिना नपुग्दै पाप्प्रा पाप्प्रा हुँदै उक्किन थालेको छ । सडकको मोटाई पनि मापदण्ड अनुसार ३० एमएम नभएको स्थानीय ईश्वरीप्रसाद कोइरालाले बताउनु भयो ।कोइरालाले भन्नुभयो – मापदण्ड अनुसार प्रतिकेजी २५० रुपियाँ पर्ने अलकत्र (बिटुमीन) प्रयोग गर्नु पर्ने हो । तर,१२५रुपियाँ प्रतिकेजी पर्ने अलकत्र प्रयोग भएको देखिन्छ । कालोपत्रे गर्नु पूर्व बेस माथि प्राइम हाल्नुपर्ने हो । तर कोरोनाको कारण देखाएर रातारात काम सम्पन्न गर्नु पर्ने छ भन्दै प्राइम नलगाई कालोपत्रे गरेकोस्थानीय उपभोक्ताले बताएका छन् । अन्यत्र कालोपत्रे गर्दा देखे अनुसार गर्न सुझाए पनि यो अर्कै प्रविधि अन्तरगत कालापत्रे भएको भन्दै स्थानीयले बिरोध गर्दा ठेकदार र प्राविधिकले टेरेका थिएनन । स्थानीय मदन खड्काले भन्नुभयो –‘राती ११र१२ बजे काम गरे । खेतीपातिको समय थियो । हरेर बस्न भ्याएनौं,हेर्दा पनि हामी अप्राविधिक मान्छेले के नै गर्न सक्थ्यौं । स्थानीय वृद्धा जमुना निरौलाले समेत सडक उक्किएको चिन्ता ब्यक्त गर्नुभयो । सोही सडकको दक्षिण तर्फ गाउँलेले पैसा उठाएर बनाएको पीच ३ वर्षयता भत्किएको छैन । तर, सरकारी पैसाको दुरुपयोग भएको उहाँको
भनाई थियो । सडक निर्माणको ठेक्का लिएको श्रीकृष्ण निर्माण सेवाले उक्त सडक सयपत्री निर्माण सेवालाई निर्माण गर्न दिएको खुलेको छ । सयपत्री निर्माण सेवाका सञ्चालक माधवराज थापाले सडक निर्माण गरेको स्वीकार्दै मापदण्ड नपुगेको स्थानमा पुननिर्माण गरिने बताउनु भयो । कोरोनाका कारण हतार भएको बताउँदै उहाँले हाल सम्म भूक्तानी समेत नलिएको बताउनु भयो ।

उता पूर्वाधार विकास कार्यालय राटनगरका इन्जिनीयर यामकुमार प्रधानले। अनुगमनका क्रममा कमजोर काम भएको देखिएपछि भुक्तानी रोकिदिएको बताउनु भयो । उहाँले मापदण्ड पु¥याएर काम नगरे सम्म कार्यालयले भुक्तानी नगर्ने समेत बताउनु भयो ।यसैबीच बुधबार पुर्वाधार विकास कार्यलयका प्राविधिकहरुको टोलीले सडकको गुणस्तर अध्ययन गरेको छ ।

 

प्रकाशित मिति: २०२०-०८-१३ , समय : ११:०२:०२ , ४ वर्ष अगाडि