उर्लाबारी काङ्ग्रेसको सभापतिमा मुक्तिप्रकाशको दाबी

बिचारको राजनीति भयो भने जीतबाट कसैले रोक्न सक्दैन – न्यौपाने

Enepal Patra Pvt. Ltd. , ८८९  पटक हेरिएको

 

उर्लाबारी, २४ साउन ।मोरङको उर्लाबारीका मुक्तिप्रकाश न्यौपानेले नेपाली काङग्रेस उर्लाबारी नगरको सभापति पदमा उम्मेद्वारी दिने हुनु भएको छ । न्यौपानेको उम्मेद्वारी घोषणाले युवा पुस्तामा आसा जगाएको छ भने पुरानो पुस्ताले भरोसा पाउने अपेक्षा गरिएको छ । १४ औं महाधिवेशन नजिकीदै गर्दा वडा देखि केन्द्र सम्मको नेतृत्व लिन नेताहरू बीच प्रतिस्पर्धा सुरु भएको हो ।

न्यौपाने नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा उदाएका काङ्ग्रेस कार्यकर्ता हुनुहुन्छ । काङ्ग्रेस र गैर काङ्ग्रेसमा पनि उत्तिकै लोकप्रियता कमाउनु भएका ४५ वर्षीय न्यौपाने २०४६ साल पछि राजनीतिमा प्रवेश गरेपनि पटक पटक राजकाज मुद्धामा थुना पर्नुभयो । काङ्ग्रेसमा पारिवारिक विरासत र आशीर्वादको राजनीति टिक्ने गरेको छ । तर, न्यौपाने त्यस्ता राजनीतिक कार्यकर्ता हुनुहन्छ, जसलाई न कुनै विरासत जोगाउनु छ । न आशीर्वाद लिएर राजनीतिमा आउनु छ । न्यौपाने नेविसङ्घको मोरङ जिल्ला सभापति निर्वाचित हुनुभयो । काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइराला मुलुकको प्रधानमन्त्री समेत रहनु भएको बेला नेविसङ्घको सभापति बन्नु भएका न्यौपाने राजनीतिबाट बिचलित भएर कुनै जागिरमा जान सक्नु हुन्थ्यो । बिदेश जान्छु भन्दा कोइरालाले नाई भन्ने अवस्था थिएन । तर ,न्यौपाने न जागिरमा लोभिनु भयो । न बिदेश भासिनु भयो ।

प्रजातान्त्रिक समाजवादको स्थायी कार्यकर्ता बनेर उहाँ सधै आन्दोलनको मोर्चामा सहभागि हुनुभयो । राजाले प्रजातन्त्र खोसेर निरंकुश शासनको अभ्यास थालेपछि कांग्रेसले काठमाडौं केन्द्रीत आन्दोलन सुरु ग¥यो । न खाने टुङ्गो न बस्ने बासको ब्यवस्था । उहाँ पनि काठमाडौं नै हानिनु भयो । संसद पुनस्र्थापनाको एक सुत्रीय माग सहित आन्दोलनमा उत्रिएका कांग्रेस सहितका सात दलले काठमाडौंमा जुलुस निकाल्दा धेरै मानिसहरू रत्नपार्कमा उभिएर हाँस्थे । न्यौपाने सम्झिनु हुन्छ– सुरु सुरुका दिनमा आन्दोलनमा निस्किने कार्यकर्ता औंंलामा गन्न सकिन्थ्यो । सात दलको आन्दोलनमा मुस्किलले सय जना उपस्थित हुँदा पनि न्यौपाने अग्रभागमा नेविसङ्घको झण्डा सहित देखिनु हुन्थ्यो । काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा तत्कालिन एमाले आधा प्रतिगमन सच्चिएको भन्दै सरकारमा गयो । तर, कांग्रेस सडक मै थियो । एमाले सरकारमा गएपछि आन्दोलन तुहाउन धेरै प्रयास भए । यद्यपि कांग्रेसको आन्दोलन थाकेन । न्यौपाने जस्तै नेविसङ्घका युवाकोहरू बल र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूको सफल नेतृत्वले आन्दोलन सफल भयो । तर, आन्दोलन सफल भएपछि त्यसको ‘तर’ खानेमा न्यौपानेका नाम आएन । उहाँ भन्नुहुन्छ – आन्दोलनका क्रममा मानव बधशाला नामले परिचित महाराजगञ्ज प्रहरी गुल्ममा लगेर म लगायतका नेतालाई थुन्यो । ५ दिन सम्म नजबन्दमा रहँदा बाँचिएला भन्ने आश थिएन । जब आन्दोलनले गणतन्त्रलाई संस्थागत ग¥यो । त्यसबेला गिरिजाप्रसाद कोइरालासाग धेरै मानिसहरू भित्रिया भइसकेको थिए ।

न्यौपाने ‘ग्रासरुट’ बाट आएका कार्यकर्तालाई पार्टीमा टिक्न कठिन भएको बताउनु हुन्छ । नेविसङ्घको जिल्ला सभापति भएपछि बिराटनगर बस्नु भएका न्यौपानेलाई केहीले बिराटनगरबासीको संज्ञा दिए । केहीले पाहुना सम्म भन्न भ्याए । तर, न्यौपाने पार्टी संगठनका क्रममा बिराटनगर बस्नु बाध्यता भएको बताउनु हुन्छ । त्यसो त मुक्तिप्रकासले नेतृत्वको मोर्चा सम्हान लागेको यो पहिलो पटक भने होइन । विद्यालय पढ्दै उहाँ नेविसङ्घको नेता बन्नुभयो । सम्झनु हुन्छ– सुनपकुवा मावि मङ्गलबारेमा माध्यमिक तहको अध्ययन गर्दै गर्दा नेविसङ्घ इकाईको सचिव थिएँ । नेविसङ्घको क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय सभापति भएँ । जिल्ला सभापति पनि कठिन समयमा भएर काम गरेको छु । उहाँले अब उर्लाबारी काङ्ग्रेसको सभापति बन्ने लक्ष्य राखेको सुनाउनु भयो । सानै उमेर देखि प्रजातान्त्रिक समाजवाद प्रति आकर्षित हुनु भएका न्यौपाने राजनीतिलाई पैसा कमाउने पेशाका रुपमा लिनु नहुने बताउनु हुन्छ । केही नेताहरू पार्टी संगठन जे सुकै होस पैसा कमाउन पाए भयो भन्ने मानसिकताबाट ग्रसित छन् । रुख चिन्हबाट मत पाएर जितेपनि आफ्नो बलले जितेको बुझ्नेहरू पनि कम छैनन् । तर ,न्यौपाने कांग्रेस प्रति जिम्मेवार भइरहने प्रतिवद्धता ब्यक्त गर्नु हुन्छ ।

चुनावमा के एजेण्डा लिएर जानु हुन्छ भन्ने जिज्ञासामा न्यौपाने थप्नुहुन्छ–समानुपातिक प्रतिनिधित्व संविधानमा ब्यवस्था भयो । न दुई तिहाई नजिकको सरकारले त्यो कार्यान्वयन गर्न सक्यो न प्रतिपक्ष बोल्यो । अब हाम्रो पुस्ताको जिम्मेवारी भनेको संविधान कार्यान्वयन गर्ने हो । स्वास्थ्य र शिक्षाको पहुँच पनि संविधानमा मात्र छ । ब्यवहारमा छैन् । कालोपत्रे मात्र बिकास हो भन्ने बुझाईबाट माथि उठेर मानव संसाधनका क्षेत्रमा काम गर्नुप¥यो । तथ्याङ्कमा देखिने बिकासले हाम्रो पुस्ता निरास भइसक्यो । पार्टीमा एक ब्यक्ति एक पदको अवधारणा विकास गर्नुपर्नेए अहिलेको आवश्यता भएको छ । न्यौपाने पार्टी भित्रको गुटगत नेतृत्वको अन्त्य होस भन्ने चाहाना राख्नु हुन्छ । चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– पार्टीमा योगदानको कदर हुनुप¥यो । धनवाद, डनवादको अन्त्य हुनुप¥यो । पाखुराको राजनीति अन्त्य भई बिचारको राजनीति भयो भने मलाई जीतबाट कसैले रोक्न सक्दैन ।

प्रकाशित मिति: २०२०-०८-०८ , समय : १९:०५:२६ , ४ वर्ष अगाडि