चिसाङ र बक्राहाको बितण्डा ,सयौं विगाहा जमीन कटान १३ परिवार विस्थापित

Enepal Patra Pvt. Ltd. , ७४९  पटक हेरिएको

हरिप्रसाद कोइराला ,
कानेपोखरी(मोरङ),२९ असार । मोरङको चिसाङ र बक्राहा खोलामा आएको बाढीले १२ परिवार बिस्थापित भएका छन् । भने सयौंं बिगाहा जमीन कटान भएको छ ।
लगातारको वर्षापछि चिसाङ खोलामा आएको बाढीले कानेपोखरी– दुखी टोलका ८ परिवार विस्थापित भएका छन् । स्थानीय टेकबहादुर मगरका अनुसार सविता दनुवार,सोममाया दनुवार,दिलबहादुर दनुवार,विष्णु माझी,उदयबहादुर माझी,लखन चौधरी,डम्बर बहादुर माझी र मोहन तिम्सिनाको परिवार विस्थापित भएको हो । विस्थापित परिवारलाई उद्दार गरी स्थानीय श्री मावि भौंसावारीमा राखिएको छ । मध्यरातमा चिसाङ खोलोले धार परिर्वतन गरी पूर्व हानिएपछि सो क्षेत्रका किसानको जमीन कटान भएको छ । सविता दनुवारले भन्नुभयो– खोलो घर तिर आएपछि रातारात घर छोडेर भाग्यौं । साना साना २ छोरा र छोरीलाई सँगै लिएर उहाँको परिवार हाल श्रीमावि भौंसावारीमा बसिरहेको छ ।
खोलामा पानी नघटेकोले क्षति अझ बढी हुने स्थानीयको भनाई छ । कानेपोखरी–५ दुखी टोलसँग बेलबारी –८ लाई जोड्नका लागि बनिरहेको झोलुङ्गेपुलको पूर्व पट्टिको पिल्लर चिसाङ खोलाको मध्य भागमा परेको छ । साविक भन्दा खोलो १० मिटर भन्दा बढी पूर्व हानिएको स्थानीय मोहन कट्वालले बताउनु भयो । यही क्रम रहे ठूलो क्षति हुने उहाँले बताउनु भयो ।
चिसाङ खोलाले कानेपोखरी –५ चिसाङ बस्तीका ३ परिवारलाई उठिबास लगाएको छ । २ घर डुवानमा परेका छन् । सानु दर्जी,गणेश राई र मानबहादुर मगरको बाख्राको खोर, सुँगुरको खोर , शौचालय बगाइसकेको छ भने घर बग्ने अवस्थामा पुगेको छ । यस्तै सोही स्थानका मनोज राई , देव मगर र बलबहादुर तामाङको घर चिसाङले डुवाएको छ । चिसाङका खोला पीडित ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारमा घर बनाएर बसेका कोही पनि सुरक्षित नरहेको कानेपोखरी– ५ का मीनराज राईले बताउनु भयो ।
विगतमा हात मुख जोड्ने आधार नै खोला थियो । तर, त्यही खोला काल बनेर पसेको छ । राजमार्गबाट २ किलोमिटर उत्तरबाट खोला पूर्व तर्फ पसेपछि बस्ती जोखिममा परेको स्थानीय मनोज राईले बताउनु भयो ।
चिसाङ खोलाले पूर्व पश्चिम राजमार्गको चिसाङ पूलबाट उत्तर पश्चिम तर्फ झण्डै ५० विगाहा भन्दा बढी जङ्गल क्षेत्र कटान गरिसकेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरले भन्नुभयो – खोला किनारमा धेरै सालका रुख खोलाले कटान गर्दा लडेका छन् । कर्मचारीहरू फिल्डमा नै भएकोले एकीन तथ्याङ्क प्राप्त भइ नसकेको ठाकुरले बताउनु भयो । चिसाङ खोला किनारमा बस्ने स्थानीयले सय बढी रुख र ६ सय मिटर क्षेत्रमा सय विगाहा भन्दा बढी जंगल क्षेत्र कटान भइसकेको बताएका छन् ।
                                                     सांसद राईद्वारा क्षतिको अवलोकन
यसै बीच प्रदेश सांसद सुयर्माराज राईले खोलाको क्षति र बाढी पीडितहरूलाई आइतबार नै भेट्नु भएको छ । भेटका क्रममा उहाँले यथाशक्य छिटो राहत र खोलाको दीर्घकालीन तटबन्धका लागि पहल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो –चिसाङका स्थायी तटबन्ध नभएसम्म हरेक वर्ष क्षति हुने क्रम रोकिदैन । खोलाबाट करोडौं रुपियाँ आम्दानी गर्ने सरकार जनताको घरमा खोलो पस्दा पनि कानमा तेल हालेर बसेको छ । राईले आइतबार पनि आफूले संसदमा खोला तटबन्ध र मापदण्ड विपरित उत्खनन बन्द गर्न सरकारसँग माग गरेको बताउनु भयो ।
                                       गाउँपालिका अध्यक्ष सहितको टोलीबाट अवलोकन
कानेपोखरी गाउापालिकाका अध्यक्ष ताराबहादुर काफ्ले लगायतका जनप्रतिनिधिहरूले समेत आइतबार नै खोलाबाट भएको क्षतिको अवलोकन गर्नुभयो । कानेपोखरी– २ र ५ नं. वडाका विभिन्न स्थानमा खोलाले पु¥याएको क्षति अवलोकन गरेपछि अध्यक्ष काफ्लेले पीडितलाई राहत वितरण र खोलाको स्थायी तटबन्धका लागि प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
उता बक्राहा खोलाले २२ वर्षपछि धार बदलेर पश्चिम तर्फ लाग्दा उर्लाबारी–३ का किसानको १२ विगाहा जमीन कटान भएको छ । बक्राहामा पानीको सतह घटे पनि कटान नरोकिएको ३ नं. वडाका वडाध्यक्ष गञ्जबहादुर कार्कीले बताउनु भयाृे । कार्कीका अनुसार पूर्व पश्चिम राजमार्ग भन्दा ४ सय मिटर उत्तर देखि खोलो पश्चिम हानिएको हो । खोलाले उर्लाबारी–३ का योगेन्द्र खड्काको २ विगाहा जग्गा बगरमा परिणत गराइदिएको छ । खड्का लगायत खोला किनारमा खेती रहेका १७ परिवारको जग्गामा लगाएको धान बाली नष्ट भएको छ ।
उता लेटाङ –८ मा तेली खोलाले तटबन्ध भत्काएर पानी धानखेती तर्फ पस्न थालेको छ । मानवीय क्षेती हुन नदिन तत्काल वडा नं ८ ले खोलालाई च्यानलाइज गर्न थालेको छ , ८ नं. वडाका वडाध्यक्ष भीम पोख्रेलले भन्नुभयो–आपतकालीन रोकथाम गरेका छैं । पानी घटेपछि थप काम गर्ने छौं ।

प्रकाशित मिति: २०२०-०७-१३ , समय : ११:१५:३३ , ४ वर्ष अगाडि