विपदबाट जोगाउन प्रतिकार्य योजना

Enepal Patra Pvt. Ltd. , ३७८  पटक हेरिएको

 कञ्चनपुर, २७ असार । बाढीजन्य विपद्को उच्च जोखिममा रहेका बासिन्दालाई जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले तयारी थालेको छ । चुरे क्षेत्र भएर बग्ने नदी तथा खोलामा आउने बाढीले प्रतिवर्ष धनजनको क्षति गर्न थालेपछि नगरपालिकाले उच्च सतर्कता अपनाउनका लागि सरोकारवालासँग सुझाव सङ्कलनको कार्य गरेको छ । चुरे क्षेत्रको विनासका कारण प्रतिवर्ष नदी र खोलामा आउने बाढीले जग्गा कटान गर्ने, डुबान गर्ने र बाढी बस्तीमै पसेर धनजनको क्षति गर्दै आएको छ नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “त्यसका लागि सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाउनमा जुटेका छौँ ।”
पूर्वसूचना प्रणाली,  खोज तथा उद्धारटोली, एम्बुलेन्सको व्यवस्थासँगै प्राथमिक उपचार टोलीलगायतको गठन गर्ने र बाढीको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने काम भइरहेको उहाँले बताउनुभयो । बाढीबाट प्रभावित हुने परिवारलाई सुरक्षित स्थानमा राख्नका लागि स्थान पहिचानको कार्यसँगै विपद्पश्चात राहतलगातका सामग्रीको जोहो मिलाउनका लागि  नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर योजना बनाइएको छ ।
नगरपालिकाको योजना बनाउन आयोजना गरेको बैठकमा देवीदल गण अर्जुनीका सेनानी विवेक कार्कीले बाढीजन्य विपद्मा परेकाहरुको उद्धार गर्नेलगायतका कार्यका लागि नेपाली सेना जनशक्ति उपलब्ध गराउन तयार रहेको बताउनुभयो । उद्धार गर्नका लागि आवश्यक पर्ने सामग्रीको विपद् आउनअगावै नगरपालिकाले व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले सशस्त्र प्रहरीसँग बाढीजन्य विपद्का लागि उपकरणसहित दक्षजनशक्ति उपलब्ध रहेको बताउनुभयो । सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जनाको खोज तथा उद्धारटोली रहेको उल्लेख गर्दै उहाँले जुनसुकै बेला पनि परिचालन गर्न सकिने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बाढीको उच्च जोखिममा रहेका व्यक्तिलाई बाढीबाट जोगिनका लागि सचेतना छर्ने कार्यसँगै बाढीबाट विस्थापनमा परेका व्यक्तिलाई राख्नका लागि टेण्ट, राहत सामग्री, एम्बुलेन्स र जेसिबी, डोजरलगायतका साधनको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहाुदर साउदले बाढीजन्य विपद्मा परेका व्यक्तिको उद्धारदेखि पुनःस्थापनका कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । नगर विपद् व्यवस्थापन समितिका सदस्य एवं वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले बाढीजन्य विपद्को बेला सूचना आदानप्रदान गर्नका लागि टोल फ्रि नम्बरको व्यवस्था तत्काल मिलाउनुपर्ने बताउनुभयो । “स्वास्थ्य संस्थामा औषधिको पर्याप्ततासँगै २४सै घण्टा खट्ने गरी स्वास्थ्यकर्मीको व्यवस्था मिलाइनुपर्छ”, उहाँले भन्नु भयो, “वडास्तरमै विपद् व्यवस्थापनका लागि कार्यदल गठन गरिनुपर्छ ।” नगरपालिकाको पाँचौँ नगरसभाबाट विनियोजित रु १० लाख रकममध्ये रु आठ लाख ५० हजार रकम विपद् कोषमा रहेको छ । नगरपालिकाको सातौँ नगरसभाबाट विपद्का लागि रु १० लाख बजेट विनियोजित गरिएको छ ।

 विपद् व्यवस्थापनकार्यलाई सघाउनका लागि बजेट विनियोजित गरिएको नगरप्रमुख ऐरको भनाइ छ । विभिन्न किसिमको विपद्बाट प्रभावित नगरपालिकामा राहत तथा क्षतिपूर्तिका लागि निवेदन दिएका व्यक्तिको सङ्ख्या ९१ रहेको छ । वडा कार्यालयको सिफारिस, इलाका प्रहरी कार्यालयको मुचुल्काका आधारमा मापदण्डअनुसार राहतस्वरुप नगद रकम उपलब्ध गराइने भएको छ । जसका लागि नगरपालिकाले राहत निर्देशिका तयार गरेको छ ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १६:२६:११ , ४ वर्ष अगाडि