संसदमा मष्तिष्क मापन यन्त्र चाहियो – सचेतक राई

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

विराटनगर, १७ असार । प्रदेश नं. १ संसदीय दलमा नेपाली काङ्ग्रेसका सचेतक एवं युवा नेता सुयर्माराज राईले संसद भवनमा सांसदहरूको मस्तिष्कलाई मापन गर्ने यन्त्र आवश्यक भएको बताउनु भएको छ ।
सत्तारुढ दलका प्रमुख सचेतक बुद्धि राजभण्डारीको भनाईको जवाफ फर्काउँदै राईले आँखा मात्र होइन,मष्तिष्क पनि जाँच गर्ने यन्त्र आवश्यक भएको बताउनु भएको हो । गत असार १२ गते सांसद राईले सरकारको रातो कितावलाई कालो कितावको संज्ञा दिँदै सरकारले केही पनि जनप्रिय काम गर्न नसकेको बताउनु भएको थियो । सरकारको बचाउ गर्दै सत्तारुढ दलका सचेतक राजभण्डारीले
रातो कितावलाई कालो देख्ने सांसदको आँखा जाँचका लागि मेसिन आवश्यक भएको बताउनु भएको थियो ।
बुधबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै राईले नियमावली अनुसार शून्य समयमा के बोल्ने ? सैद्धान्तिक विषयमा के बोल्ने र विषेश समयमा के बोल्ने भन्ने नै जानकारी नभएका सांसदको मस्तिकलाई ठीक ठाउँमा राख्ने यन्त्र आवश्यक भएको बताउनु भयो । उहाँले भन्नुभयो –‘मेसिन अब कालो कर्तुत पता लगाउने पनि चाहियो ।’ राईले नियमावली अनुसार कसले के बोल्नुपर्छ, मस्तिष्कलाई ठीक ठाउँमा राख्ने मेसिन सदनमा राख्न माग गर्दै जथाभावी नबोल्न आग्रह गर्नुभयो ।
प्रदेश सरकार चुरे क्षेत्रको संरक्षण गर्न भन्दा दोहन गर्न लागि परेको बताउँदै उहाँले सरकार घुमाउरो पारामा आफै क्रसर उद्योग सञ्चालन गर्ने दाउमा रहेको आरोप लगाउनु भयो । आफूले हरेक वर्ष चुरे संरक्षणमा जोड दिएको बताउँदै उहाँले चुरे संरक्षणका सवालमा सरकार कानमा तेल हालेर बसेको उल्लेख गर्नुभयो । राईले भन्नुभयो– क्रसर उद्योगमा सरकारका मन्त्री र सांसदहरुको लगानी रहेकोले जानकारी पाएको छु । सभामुखसाग उहाँले यस विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-०२ , समय : २३:०६:१९ , ४ वर्ष अगाडि