लगातार पानी परिरहँदा किसानलाई मकै थन्क्याउन समस्या

Enepal Patra Pvt. Ltd. , १५२१  पटक हेरिएको

हरिप्रसाद कोइराला,
रङ्गेली(मोरङ), १३ असार । मकै भण्डारण गर्न नपाउँदै लगातार पानी परेपछि दक्षिणी मोरङका किसानले लगाएको सयौंं विगाहाको मकै कुहिन थालेको छ ।
दक्षिणी मोरङको रङ्गेली, सुनवर्सी र रतुवामाई नगरपालिकाका किसानलाई यति बेला आफूले उब्जाएको अन्न सुरक्षित रुपमा भित्त्राउने चटारो छ । जेठको अन्तिम देखि दैनिक जसो पानी पर्दा किसानले न मकै थन्क्याउन पाएका छन् । न धान । धान काट्ने प्रविधि खेतका गरा गरामा पुगेपनि सुकाउने प्रविधि नहुँदा कोरोनाको त्रासका बीच लगाएको बाली कुहिन थालेको किसानको भनाई छ । रङ्गेली ७ का किसान प्रल्हाद कुमार यादवले भन्नुभयो – एक विगाहामा लगाएको मकै थ्रेसर गरेको दिन देखि पानी परेको प¥यै गर्दा सुकाउन पाएको छैन् । रङ्गेली बसपार्कको कालोपत्रेमा बिस्कुन लगाउनु भएका मण्डलले एक विगाहामा २ सय मन मकै उत्पादन गरेको बताउनु भयो ।
रङ्गेली ८ की सरलादेवी मण्डलले ठेक्का लिएर २ विगाहामा मकै लगाउनु भएको थियो । कोरोनाको त्रासका बीच जोखिम उठाएर गोडमेल गरेको मकैबाट उहाँले ४ लाख रुपियाँ कमाउने लक्ष्य राख्नु भएको थियो । मकै राम्रो फल्यो । भाउ नआउँदा पनि प्रति मन हजार रुपियाँले बिक्री गर्न गर्न पाइएला भनेर मकै खेती लगाउनु भएकी सरला अहिले ठेक्का तिर्नै नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँले भन्नुभयो – पोहोर ३५ रुपियाँ किलो बेचेको मकै यो साल २२ रुपियाँ भन्दा माथि गएको छैन् । सरलाले लगातार पानी परिरहेकोले खेतबाट भाँचेर ल्याएको मकै बोरा मै छोपछाप पारेर राख्नु भएको छ । बोरा मै मकै उम्रिसक्यो । पानीले काम गर्न दिएको छैन् । जसले थ्रेसर गरे, उनीहरूलाई पनि सन्चो छैन् । मकै गन्हाउन थालिसक्यो । यतिबेला उनीहरू आकास हेरेर बस्ने गर्छन ।
दुई विगाहामा मकै लगाउनु भएका रङ्गेली –८ का नारायणप्रसाद साहले भन्नुभयो – २ अढाई सय मन मकै सडक किनार र बसपार्क मै बिस्कुन लगाएको छु । आकास खुलेर घाम देखिना साथ फिजाउने र बादल लाग्ना साथ बटुलेर ओडा लगाउने नारायण प्रसाद लगायतका किसानको दैनिकी नै भएको छ ।
अर्की किसान सीतादेवी महतोले १५ कट्ठामा लगाएको मकै सबै कुहिएर गन्हाउन थालेको बताउनु भयो । उहाँले भन्नुभयो – २० हजार खर्च गरेर लगाएको मकै सबै कुहियो । थ्रेसरलाई चालिस किलो मकै थे्रसिङ गर्दा २ किलो दिनुपर्छ ।
सीतादेवी , नारायण ,प्रल्हाद र सरलादेवी प्रतिनिधि किसान मात्रै हुनुहुन्छ । रतुवामाई नगरपालिकाको इटहरा बजारबाट दक्षिण लागेपछि आम्बारी बजार हुँदै रङ्गेली बजार पुग्दा जताततै सडकमा किसानका दुख देखिन्छन् । कोरोना महामारीको त्रासका बीचमा लगाएको बाली भित्त्राउन नसक्दा किसान दुखी छन् । मकै सुकाउने आधुनिक प्रविधि नहुँदा किसानको लाखौं मूल्यको अन्न खेर जाने मात्र होइन । राज्यले समेत ठूलो आर्थिक क्षति समेत बेहोरिरहेको छ ।

प्रकाशित मिति: २०२०-०६-२७ , समय : २०:४२:३९ , ४ वर्ष अगाडि