रोशीमा ‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण हुने

Enepal Patra Pvt. Ltd. , १५३६  पटक हेरिएको

बनेपा, १० असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ ।

रोशी सरकारको पहलमा वडा नं ११ कालढुङ्गामा बनाउनका लागि ६० रोपनी जग्गाको व्यवस्था गरी गुरुयोजनासमेत तयार गरिसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएसँगै डम्फु जीवन्त सङ्ग्राहलय निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो । “त्यसका लागि डेढ करोड बजेट परेको छ”, उहाँले भन्नुभयो, “त्यससँगै गाउँपालिकाले पनि बजेटमा सम्बोधन गर्छ ।” सबै प्रक्रिया अगाडि बढिसकेकाले अब साउनभित्रमा बोलपत्र प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । साठ्ठी रोपनी सार्वजनिक जग्गालाई व्यवस्थापन गरी निर्माण गरिने उक्त सङ्ग्रहालय नेपालकै नमूना सङ्ग्राहलय बन्ने अध्यक्ष लामाको भनाइ छ ।

सङ्ग्रहालय बनाउनका लागि गाउँपालिकाले जग्गा सम्याउने, माटो परीक्षण गर्ने र गुरुयोजना तयार गर्ने काम सम्पन्न गरिसकेकाले अब उक्त स्थानमा संरचना निर्माणको काम अघि बढ्नेछ । सङ्ग्रहालयसँगै डम्फु पार्क निर्माण हुने र वरिपरि बुद्धचित्त मालाको बिरुवा, टटलाको फूल रोपेर सङ्ग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ ।

तामाङ समुदायको बाहुल्य रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले सङ्ग्रहालयको नामकरण नै डुम्फु जीवन्त सङ्ग्रहालय राखिएको अध्यक्ष लामाले बताउनुभयो । करिब रु १० करोड लागतमा आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्ने गरी भइरहेको सङ्ग्रहालय निर्माणले पर्यटन प्रवद्र्धनसमेत हुने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।
–––

प्रकाशित मिति: २०२०-०६-२४ , समय : ०८:१६:५१ , ४ वर्ष अगाडि