सामूदायिक भवन मापदण्ड अनुसार बनाउन माग गर्दै ज्ञापनपत्र

Enepal Patra Pvt. Ltd. , १९९७  पटक हेरिएको

पथरीशनिश्चरे( मोरङ), २७ जेठ । आम समूदायको भेला नबोलाई उपभोक्ता समिति गठन गरी मोरङको पथरीशनिश्चरे २ मा सामूदायिक भवन निर्माण गर्न थालिएको भन्दै स्थानीय सरोकारबालाहरूले नगर उप प्रमुख यमूना बिष्ट बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले मङ्गलबार ज्ञापन पत्र बुझाएका हुन् ।


गत जेठ १५ गते सांसद कृष्णकुमारी राईले सामूदायिक भवनको शिलान्यास गरेपछि बिबाद सुरु भएको हो ।शिलान्यास भएकै दिन शहरी विकास कार्यालयका निमित्त प्रमुख राम सुवरण चौधरीले काम रोक्न निर्देशन दिनु भएपछि घटनाले राजनीतिक मोड पाएको थियो । नेकपा पक्ष जसरी पनि सामूदायिक भवन मन्दिर परिसरमा बनाएरै छोड्ने तिर लागेपछि बिबाद चुलिएको हो । शहरी बिकास कार्यालयले उपभोक्ता समितिलाई तुरुन्त काम रोक्न निर्देशन दिए पनि काम नरोकिए पछि आम उपभोक्ता ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेका हुन् ।
विभिन्न १६ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मापदण्ड विपरित सामूदायिक भवन बनाउँन थालिएको भन्दै आपत्ति जनाइएको छ ।कुनै धर्म विशेषको विशेष स्थानमा सामूदायिक भवन बनाउँदा सबै जात ,भर्म, लिङ्ग र वर्णको अपनत्व नहुने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा किरात उत्थान समूह,नेपाल मगर संघ,पथरी शान्ति वप्तिष्ट मण्डली,किरात याक्थुङ चुम्लुङ,तमु ध्युला छोज धि लगायतका संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ । यस्तै दलित एकता समाज,नेवार समाज कल्याण कोष,नेपाल तामाङ घेदुङ,चौतारी स्पोर्टिङ क्लव,देवीगञ्ज स्पोर्टिङ क्लव र तमु गुरुङ एकता समाजका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ । यसैगरी ज्ञापन पत्रमा हस्ताक्षर गर्नेमा सेन्जुलुङ सांस्कृतिक मञ्च, विगतमा जग्गादिने जग्गादाता र स्थानीय २ जनाले हस्ताक्षर गर्नु भएको छ ।
१ नं. प्रदेशमा मोरङ क्षेत्र नं. ३(क)का प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सोही बजेट अन्तरगत उक्त सामूदायिक भवन निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: २०२०-०६-०९ , समय : २२:१६:५९ , ४ वर्ष अगाडि