सदनमा कांग्रेसको टिप्प्णी : मुखबाट मास्क उतार्न सके सरकारलाई जनताले पत्याउलान !

Enepal Patra Pvt. Ltd. , ४६९  पटक हेरिएको

विराटनगर, २५ जेठ । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम २०७७-०७८ माथि आजबाट छलफल सुरु भएको छ । छलफलमा सहभागी प्रमुख विपक्षी कांग्रेसका सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रमले तल्लो वर्गलाई समेट्नेभन्दा पनि पहुँचवालाको नै पक्षपोषण गर्ने जस्तो देखिएको भन्दै आलोचना गरेका छन् ।

कांग्रेस सचतेक सूयर्माराज राईले प्रधानमन्त्री केपी ओलीकै भनाई ‘ताजुब लाग्छ, आश्चर्य लाग्छ’सापटी लिएर बोल्दै छलफलमा सहभागी हुँदै भने,“नीति तथा कार्यक्रम ३४ नम्बरको बुँदा नै यसको मर्म छ । सुधारको कुरा गरिएको छ तर कसमा गर्ने भन्नेमा सरकार आफैं प्रस्ट छैन ।”

सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर ३४ मा भनिएको छ “समाजमा रहेको परम्परागत सोच र अभ्यासहरुलाई बदल्दै प्रदेश सरकारद्वारा प्रस्तुत योजना तथा कार्यक्रमहरुको कार्यान्वयनबाट समाजमा विद्यमान उत्पादन र वितरणको परम्परगत प्रणालीमा व्यापक सुधार गरिनेछ । त्यस प्रणालीमार्फत् समाजको सबभन्दा तल्लो वर्गका समुदायमा पहुँच पुग्ने गरी न्यायोचित वितरणको सुनिश्चत गर्दै समाजवादको आधार निर्माणमा जोड दिइनेछ ।”

तर, यसमै सचेतक राईले टिप्पणी गर्दै भने,“दायित्व त्यहीं छ । सरकार आत्मसमीक्षामा कहाँ सफल वा असफल भएको छ ? परम्परागत उत्पादन र वितरणलाई फेरबदल गर्न सकेको छ ।
परम्परागत अभ्यासहरु किन परिवर्तन हुन सकेका छैनन् ?” सचेतक राईले “बजेट वितरणमुखी हुन्छ भनेर आर्थिक मामिला मन्त्रीले नै सदनमा जवाफ दिएको अवस्थामा आधुनिक वितरण र उत्पादनमा केही फरक छैन” भन्दै प्रश्न गरे ।

उनले भने,“मुख्यमन्त्रीले थोरै स्पेस भए पुग्छ काम गर्न सकिन्छ भन्नु भएको थियो तर के प्रदेश सरकार परिपक्व भएको हो ? उत्पादन र वितरणबीचको भिन्नता के हो ? उत्पादनमा आधारितलाई दिने कि वितरणलाई ? आधुनिक हिसाबको वितरण र उत्पादन प्रणाली के हुन्छ ? आज हामीले वितरण गरेको बजेट वितरणमुखी छन् ? के अनुदानहरु न्यायोचित छन ? के तल्लो वर्गमा पुगेको ? पहुँचवालाको हातमा मात्र पुगेको छैन र ? सरकारले आत्मआलोचना गरोस ।”

सचेतक राईले “समाजवादको आधार तय गर्ने आधार व्याख्या गर्दै गर्दा समाजवादलाई सम्बोधन गर्न सक्ने वा समात्न सक्ने सरकारसंग कार्यक्रम कार्यक्रम के छ ?,” राईको प्रश्न थियो, “सरकारसंग कुन कार्यक्रम छ ? जसले समाजवादको लक्ष्यसम्म पुग्न सकिन्छ । म देख्दिन ।”

उनले अहिलेको विषम परिस्थितिमा पनि सरकारको प्रस्तुति सामान्य देखिएको र कुनै किसिमको महामारी छैन,संकट छैन, सामान्य अवस्थाबाटै जान्छ भन्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको टिप्पणी गरे । उनले भने,“आजको अवश्य पनि आवश्यकता स्वास्थ्य हो । तत्कालीक परिस्थितिजन्य अवस्था संकटपूर्ण छ तर ढाकछोप गर्ने होइन प्रदेश सरकारको कुरा सम्बोधन गर्नुपर्छ ।”

उनले स्वास्थ्यको हकमा भन्दै गर्दा भइरहेको संरचना र त्यसको स्तरोन्नतिको विषयमा सरकारले नसोचेको आरोप लगाउँदै अस्पताललाई आफ्नो पार्टीका नेताको नामकरण गर्ने थलोमात्र बनाउने र रुमानी किसिमको सोच बनाएको बताए । उनले भने,“नीति नै लिने हो भने ५ देखि १० भेन्टिलेटर र आईसीयूसहितको तहगत अस्पताल बनाउनु पर्दछ । हिम्मत देखाउनु पर्छ । तर, खोइ त व्यवहारमा देखिएको छैन ।” राईले कृषिको समस्या के हो ? के जमिन ? प्रविधि होइन र भन्दै कृषिप्रति दृष्टिकोणको समस्या रहेको बताए ।

विश्व फरक परिस्थितिमा रहेको र विषम परिस्थितिले सदनको परिवेदश पनि फरक परेको भन्दै उनले विगतका प्रदेश प्रमुखले खलखली पसिना चुहाएर नीति तथा कार्यक्रम वाचन गरेको तर यो पटक आरामले एसीको चिसोमा कुर्सीमा बसेर नीति तथा कार्यक्रम पढेको देखिएको टिप्पणी गरे ।

अघिल्लो वर्ष कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुखले रोस्ट्रममा उभिएरै नीति तथा कार्यक्रम वाचन गरेका थिउ । तर, यो पटक नेकपा सरकारले नियुक्त गरेका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले भने कुर्सीमा बसेर दुई घन्टा लगाएर पढेका छन् । ठाउँ अभावले प्रदेशसभा नै दुई वटा हलमा संचालन हुँदै आएको छ ।

कांग्रेसका उपनेता हिमाल कार्कीले नीति तथा कार्यक्रम पट्यारलाग्दो ढंगले आएको बताए । वर्तमान अवस्थाको मूल्यांकन गर्न नसकेको,वस्तुनिष्ठ आधारलाई सम्बोधन गर्न नसकेको र यो शब्दजाल भरिएको पोकोको रुपमा आएको भन्दै आलोचना गरे । उनले भने,“पञ्‍चायत, प्रजातन्त्र र  लोकतन्त्रमा पनि नीति कार्यक्रम आउँथे गणतन्त्रमा पनि आएको छ, तर कार्यान्वयन कति भएको छ ? परिणाम कति दिएको छ ? परिणाममा आएन भने यसको जिम्मेवारी र कार्यान्वयनमा आईपर्ने समस्या कसले बेर्होने ?” उनले जवाफदेहिता लिने गर्नु पर्यो भन्दै गत वर्षका नारासमेत आएको र  गत वर्षको मूल्यांकन उपलब्धी तथा चुनौती समेट्नु भने सकारात्मक भएको बताए । उनले स्विस सरकारको सहयोग लिने काम प्रदेश सरकारल गरेकोमा धन्यवाद दिए । उनले नीति तथा कार्यक्रम “लेखाईको रुपमा छ गराईमा प्रस्ट हुनुपर्छ” भन्दै सुझाव पनि दिए ।

भ्रष्टाचारमा शून्य सहनशीलता थेगो जस्तै भएको भन्दा उपनेता कार्कीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा त भ्रष्टाचार भएको अवस्थामा “परम्परागत सोच र अभ्यास बदल्ने कि हामी पनि बदलिने ?” भन्दै प्रश्न गरे ।

“जनजाति प्रमुख हुँदा उभिएर अनि ब्राम्हण हुँदा एसीमा कुर्सीमा बसेर नीति तथा कार्यक्रम भन्नु पर्ने,” कार्कीले भने,“एउटा मधेशी मुलको नेता राष्ट्रपति हुँदा सामान्य रुपमा कार्यकाल बिताएको तर अर्कोलाइ करोडको कार्पेट चाहियो ।” उनले प्रदेश १ सरकारका एकजना मन्त्रीलाई अहिले नै करोडको गाडी चाहियो रे भन्दै टिप्पणी गरे ।

कार्कीले भने,“कस्तो गणतन्त्र ल्याइयो । के ले प्रदेश सरकारलाई आफ्ठ्यारो बनाएको छ ? स्वास्थ्य चौकी स्तरोन्नति गरिएला, भौतिक रुपमा बन्ला तर डाक्टर कसरी उत्पादन गर्ने ?” उनले अस्पतालमा भेन्टिलेटर होला तर चिकित्सकको व्यवस्थापन कसरी गर्ने भन्ने सोच्नु पर्ने बताए । गरिबका छोराछोरीलाई डाक्टर बनाउन के सहुलियत दिन्छ ? निजी अस्पतालको अवस्था पनि हेर्दा निजीले सरकारलाई नटेरेको देखिएको बताए ।

उनले अहिले समाजमा घरमा पालिएको कुकुरले गलैंचार्ला फोहोर गरे सोहोर्ने तर गाईको गोबर सोहोर्न घिन लाग्ने अवस्थामा रहेको बताए । “कृषि क्षेत्र नै समुन्नतिको आधार हो । हिलोसंग खेल्ने किसानसंग जग्गा छैन । हज्जारौं बिघा खेत हुने हिलोमा पस्दैन”, कार्कीले भने,“पशुपालन, फलफूल खेती, कृषि विषय पढाइयोस । कृषिविज्ञहरु उत्पादन गरियोस ।”

उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चलाएको “म अघि बढ्छु” कार्यक्रमलाई कार्यकर्ता पाल्ने कार्यक्रम भन्ने टिप्पणी गर्दै शिक्षण शिक्षा बन्द भएको अवस्थामा “कसरी यो कार्यक्रम कसरी अघि बढ्न सक्छ ?” भन्दै यसलाई हटाएर “म कोरोनासंग लड्छु” शुरु गर्न प्रस्ताव गरे ।

कांग्रेस सांसद शेखरचन्द्र थापाले के अहिलेकै परिस्थितिको मागअनुरुप नीति तथा कार्यक्रम आएको छ त ? भन्दै प्रश्न गरे । उनले सांसद विभाजित भएर बसी सभाहल अलग अलग गर्नुपर्ने अवस्थामा सरकार एउटै सभाहलमा निर्माण गर्न सक्षम नभएको बताए ।

उनले भने,“जनताले अहिले हेर्ने परिणाम हो । प्रदेश सरकार पनि छ भनेर आफ्नै हल त बनाउन सकेको छै । आधा उमेर त सरकारको गईसकेको छ ।यस्तो अवस्थामा यो गर्छु वा उ गर्छु भन्दा जनताले पत्याउँछन ?” आफूले अहिलेको परिवेशमा साझा संकल्पका प्रस्ताव आउँछन भन्ने आश गरेको भएपनि लामो भाषणको रुपमा आएको कार्यक्रममा साझा विषय नआई सरकार एक्लै हिंड्ने प्रयत्नमा लागेको देखिएको बताए ।

थापाले प्रदेशको नामकरणको विषयसमेत थाँती रहेको अवस्थामा यो विषय स्वाट्टै हराएको भन्दै सांसदको आधा उमेर बित्दा पनि नआएको टिप्पणी गर्दै भने,“हिजो अल्पकालीन बजेट भन्यो हामीले मान्यौं । दोस्रो बजेट सरकारले पिर्का र गुन्द्रीमा बसेर ल्यायौं भन्यो त्यो पनि मान्यौं । अहिले कार्यान्वयनको विषय उठेको छ । अब मुख छोप्न कुन फुलबुट्टे घुम्टो ओढ्ने हो ?”

हाम्रो मुखबाट मास्क उतार्ने गरी र हात मिलाउन सक्ने परिस्थिति ल्याउने गरी कार्यक्रम ल्याउँ अनि जनताले विश्वास गर्ने भन्दै सरकारको ध्यानाकर्षण गरे । रोकथाम, उपाय र सामान्यकृत गर्ने उपायको विषयमा ठोस कार्यक्रम नीति तथा कार्यक्रमले ल्याउन नसकेको थापाले टिप्पणी गरे । भने,“आर्थिक क्षेत्र उठ्ने गरी कार्यक्रम ल्याउनु पर्छ ।”

कांग्रेसका अर्का सांसद प्रतापप्रकाश हाङगामले सरकारले ल्याएको नीति तथा कार्यक्रम कसरी र कुन ढंगबाट कार्यान्वयनमा जान्छ भन्ने जनतामा जिज्ञासा भएको बताए । बाह्रखरी अनलाइनबाट 

प्रकाशित मिति: २०२०-०६-०७ , समय : २१:३३:३८ , ४ वर्ष अगाडि