बन्दाबन्दीमै पुस्तक ढुवानी

Enepal Patra Pvt. Ltd. , ६९०  पटक हेरिएको

म्याग्दी, २३ जेठ । नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक जिल्ला भित्रिएको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पुस्तक ढुवानी भइरहेको छ । शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि वैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै म्याग्दीका विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेका छन् । विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बनाउन लागेको बेनी–९ नेप्टेचौरको राष्ट्रिय माविका शिक्षक रामचन्द्र शर्माले बताउनुभयो ।

“सामाजिक दूरी कायम र लकडाउनको परिपालना गरेर विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागेका छौँ”, उहाँले भन्नुभयो, “वैकल्पिक माध्यमबाट पढाउन भने पनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुन्छ ।” भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ । सबै वर्ग र क्षेत्रका विद्यार्थीमा रेडियो–टेलिभिजनको पहुँच पनि छैन । विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले जेठ महिनाभित्र पुस्तक वितरण गरिसक्ने विद्यालयको योजना छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक ल्याएर बिक्रीकक्ष स्थापना गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ ।

स्थानीय तहका शिक्षा शाखामार्फत तथ्याङ्क सङ्कलन गरेर मागका आधारमा पुस्तक ल्याइएको महासङ्घका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यले बताउनुभयो । “पुस्तक अभाव नहोस् भनेर पर्याप्त मात्रामा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक पठाउन थालेका छौँ ।” उहाँका अनुसार पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि लकडाउन भए पनि शैक्षिकसत्र शुरु हुनुअघि नै ढुवानी गरिएको हो । पालिकाले विद्यालयलाई पुस्तक खरिदका लागि माग गरिएकोमध्ये ७० प्रतिशत बजेट पेश्की उपलब्ध गराएका छन् । आन्तरिक स्रोत जुटाएर पुस्तक खरिदवापतको रकम भुक्तानी गरिएको रघुगङ्गा–४ दग्नामको जनता माविका प्रअ गुन पुनले बताउनुभयो ।

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा वार्षिक रु एक करोड बजेट खर्च हुने गरेको छ । एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार २५० सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम र लम्बिँदो लकडाउनका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने अपेक्षा गरिएको छ । मङ्गला गाउँपालिकाले तल्लो कक्षाका विद्यार्थीका लागि सिकाइ सामग्री तयार पारेर वितरणको तयारी गरेको शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले बताउनुभयो ।

बन्दाबन्दीको फुर्सदमा युवाद्वारा श्रमदान

कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण फुर्सदिला बनेका जलजला गाउँपालिकाको वारीबेनीका युवा श्रमदानमा जुटेका छन् । वारीबेनीको नवउत्साही समूहको नेतृत्वमा जुगेधाराको खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न युवाले श्रमदान गरिरहेका हुन् । युवाले श्रमदान गरेर सार्वजनिक शौचालयको खाडल खनेर पर्खाल निर्माण भएको छ । समूहमा आवद्ध युवालाई सामाजिक दूरी कायम गरी सुरक्षा सावधानी अपनाएर शौचालय निर्माणमा परिचालन गरिएको अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । चार दिनका दरले श्रमदान गरिसकेका छन् । दैनिक १५ युवा श्रमदानमा सहभागी भएका छन् । लकडाउनको फुर्सदको सदुपयोग, रचनात्मक कार्य र सामाजिक आवश्यकता पूरा हुने भएकाले शौचालय बनाउन श्रमदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शौचालय निर्माणका लागि पर्वत क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा रु दुई लाख विनियोजन भएको छ । सो बजेटबाट सिमेन्ट, प्यान, पाइपलगायत निर्माण सामग्रीका साथै ढुवानी गरिने समूहले जनाएको छ । खाडल खन्ने, पर्खाल लगाउने, भवन बनाउनेलगायत काममा युवाले श्रमदान शुरु गरेका हुन् । स्थानीयवासी तथा युवाको पहलमा नदी किनारको सार्वजनिक बगर र पाखो सम्याएर खेलमैदान बनाइएको छ । कालीगण्डकी किनारमा निर्माण भएको खेलमैदानलाई सुरक्षित बनाउन नदी नियन्त्रण योजना माग गरेका छन् ।

प्रकाशित मिति: २०२०-०६-०५ , समय : ०९:३३:३७ , ४ वर्ष अगाडि