सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर उच्च

Enepal Patra Pvt. Ltd. , ४५०  पटक हेरिएको

धनगढी,२१ जेठ । पाँचजना सङ्क्रमित निको भएर घर फर्किएपछि झन्डै डेढ महिनासम्म ‘ग्रीन जोन’ मा रहेको सुदूरपश्चिममा कोभिड–१९ को सङ्क्रमण पुनः उकालो लागेको छ । उता, बैतडीको एक क्वारेन्टाइनमा रहेकी युवतीको मृत्यु भएको छ । ती युवतीकी १८ महिनाकी छोरी
रहेकी छन् ।

धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार कामकोे सिलसिलामा भारत गएकाहरू धमाधम घर फर्केपछि सङ्क्रमण पुनः बल्झिएको हो । भारतबाट फर्किएकाहरू विभिन्न जिल्लाका गाउँ–गाउँसम्म पुगेका छन् । भारतबाट फर्किएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ ।
यसअघि, सुरुवाती चरणमै कैलालीका चार र कञ्चनपुरको एक व्यक्तिमा गरी पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू सबै निको भएर घर गएको करिब डेढ महिनापछि पुनः सङ्क्रमण देखापरेको छ । सामाजिक विकास मन्त्रालयको सोमबारको तथ्याङ्कअनुसार सुदूरपश्चिममा हालसम्म सङ्क्रमितको सङ्ख्या ४३ रहेको छ । नौ जिल्ला रहेको यो प्रदेशमा बझाङबाहेक बाँकी सबै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या कैलालीमा सबैभन्दा बढी २७, बैतडीमा छ, अछाममा तीन, बाजुरा, कञ्चनपुरमा दुई÷दुई, डडेल्धुरा, दार्चुला र डोटीमा एक÷एकजना रहेको छ ।
मङ्गलबारको परीक्षणमा अछाममा १० जना थपिएर सो जिल्लामा सङ्क्रमित सङ्ख्या १३ र प्रदेशको कुल सङ्क्रमित सङ्ख्या ५३ पुगेको छ । यद्यपि, अछाममा १० जना थपिएको विषयमा मन्त्रालयले भने त्यसको पुष्ट्याइँ गरिसकेको छैन । अछाम जिल्लामा १० जना सङ्क्रमित थपिएको भन्ने विषयमा बुझ्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भन्नुभयो ।
हालसम्म कैलालीका चार, कञ्चनपुरको एक र डडेल्धुराको एक गरी यो प्रदेशमा छजना निको भएका छन्् भने बाजुराकी एक दुई वर्षीया बालिकाको ज्यान गएको छ । बाँकी सबैको उपचार भइरहेको छ ।
सुदूरपश्चिममा हालसम्म पीसीआर विधिबाट पाँच हजार ७६७ र आरडीटी विधिबाट २२ हजार ५४५ गरी जम्मा २८ हजार ३१२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यो प्रदेशमा ४३ हजार ३५७ पुरुष र छ हजार ५९६ महिला गरी ४९ हजार ९५३ जना हाल क्वारेन्टाइनमा रहेका मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, ३० जना आइसोलेसनमा बसेको जनाइएको छ ।

महिलाको क्वारेन्टाइनमै मृत्यु
बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार भारतबाट आएर जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बस्नुभएकी २२ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृतक महिला भारतमा मुटु रोगको उपचार गरेर फर्किनुभएको थियो । बैतडीको पुरचौडी नगरपालिका–४ भटनाकी २२ वर्षीया सुनिता लोहारको गएराति क्वारेन्टाइनमै मृत्यु भएको हो ।
मृतककी १८ महिनाकी छोरी र श्रीमान् पनि भारतबाट फर्केर क्वारेन्टाइनमै बस्नुभएको थियो । नियमित सेवन गर्दै आएको औषधि १२ दिनदेखि सकिएको परिवारले जानकारी दिएका छन् । मृतक महिलाको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरेर धनगढी पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
के कारणले मृत्यु भएको हो भन्ने कुरा यकिन गर्न महिलाको स्वाब धनगढी पठाइन लागेको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।
यसैगरी, पुरचौडी नगरपालिकाका विभिन्न वडाका विद्यालयमा भारतबाट आएका ५३५ जना क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेकाहरूको सामान्य ज्वरो नापेरमात्रै राखिएकाले स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण हुनुपर्ने भारतबाट आएकाहरूले माग गरेका छन् ।

स्थानीय तहलाई व्यवस्थापनमा समस्या
डोटी समाचारदाता डिलबहादुर सिंहका अनुसार डोटी जिल्लामा दुई हप्ताको अवधिमा भारतबाट सात हजारभन्दा बढी व्यक्ति भित्रिएका छन् । भारतबाट जिल्लाका विभिन्न स्थानीय तहका नागरिक फर्किनेक्रम नरोकिएपछि स्थानीय तहलाई यातायात लगायत क्वारेन्टाइन व्यवस्थापनमा समस्या
देखिएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार भारतबाट भित्रिएकाहरूलाई स्थानीय तहले निर्माण गरेका विभिन्न १७२ वटा क्वारेन्टाइनमा राखिएको छ । एउटै विद्यालयमा दुई सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा राखिएका छन् । ठूलो सङ्ख्यामा भएका कारण बसोवास र खानपानमा समस्या देखिएको छ ।
डोटीका स्थानीय तहहरूले भारतबाट फर्किएकाहरूलाई भारतीय नाकादेखि सम्बन्धित क्वारेन्टाइनसम्मको यातायातलगायतका खर्च व्यवस्थापन गर्दै आएको छ । क्वारेन्टाइनमा क्षमताभन्दा बढी चाप भएका कारण न्यूनतम सामाजिक दूरीसमेत कायम हुन सकेको छैन ।

व्यवस्थापनकै सकस
लम्की समाचारदाता चाँदनी आचार्यका अनुसार कैलालीको घोडाघोडी नगरपालिकामा सोमबारसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दुई हजार तीन सय पुगेको छ । सो पालिकाका १२ वटा वडामा रहेका ४९ विद्यालयको क्वारेन्टाइनमा भारतबाट आएकाहरूलाई राखिएको छ । भारतका विभिन्न सहरबाट आएकालाई प्रत्येक क्वारेन्टाइनमा चारदेखि १५१ जनासम्म बस्ने गरेका छन् ।
राष्ट्रिय माध्यमिक विद्यालय तारानगरमा रहेको क्वारेन्टाइनमा १६ वटा कोठामा १५१ जना बसेका छन् । विद्यालयका प्रधानाध्यापक सुबोधकुमार शर्माले विद्यालयमा आठवटा शौचालय र पानीको धारा १५१ जनाले प्रयोग गर्दा समस्या आएको बताउनुभयो । क्षमताभन्दा बढी भएकाले शौचालय र पानीको धारा सबैले प्रयोग गर्दा थप जोखिम देखिएको छ ।
घोडाघोडी–४ का निशान्त बुढामगरले भन्नुभयो, ‘भारतको दिल्लीबाट नेपाल आइपुग्नेभन्दा बढी जोखिम क्वारेन्टाइनमा छ, सीमामै परीक्षण गरेर सुरक्षित घर पठाइदिएको भए हामी होम क्वारेन्टाइनमै बस्ने थियौँ ।’
नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सुरुमा थोरै सङ्ख्यामा हुँदा क्वारेन्टाइनमै खानाको व्यवस्था गरिएको भए पनि अहिले दिन प्रतिदिन सङ्ख्या बढ्दै गएपछि त्यहाँ बस्नेका लागि घरबाटै खाना खुवाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जतिसक्दो राम्रो गर्ने प्रयास गरेका छौँ, स्रोत–साधनले थेग्नेजति गर्छौं, सङ्ख्या वृद्धिसँगै जोखिम पनि बढेको छ ।

प्रकाशित मिति: २०२०-०६-०३ , समय : ०६:४०:२० , ४ वर्ष अगाडि