Enepal Patra Pvt. Ltd. , ७६८  पटक हेरिएको

ताप्लेजुङ, २० बैशाख ।  ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ। शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो।
आगलागीबाट कम्तीमा १० घर जलेर नष्ट भएका छन्। स्थानीयबासी दुर्गा भट्टराईका अनुसार आगो तीव्र गतिमा बजार क्षेत्रमा फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको छ। राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो।
आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। मध्यराति भएको आगालागी नियन्त्रणमा लिन समस्या भएको छ। ताप्लेजुङ सदरमुकाममा रहेको एउटा मात्रै दमकलले आगो निभाउन कठिन भएको छ।
आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको छ। आगो राति १२ बजेपछि मात्रै केही मत्थर भएको छ। फुङलिङ बजारमा पटक पटक आगलागी हुने गरेको छ।

प्रकाशित मिति: २०२०-०५-०२ , समय : ०८:०६:२० , ५ वर्ष अगाडि