निषेधाज्ञा हटाइयो

Enepal Patra Pvt. Ltd. , २४७१  पटक हेरिएको

उर्लाबारी, १४ माघ  ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आज बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ ।

विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान मृत्यु भएको थियो । बालिकाको मृत्युपछि स्थानीयवासीले घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै सडकमै शव राखेर दिनभर प्रदर्शन गरेका थिए ।
बालिकालाई ठक्कर दिएकासहित दुर्घटनास्थल वरपर आइपुगेका को १ ख ५८३३, को १ ख ५६८४, को १ ख ६५६३, को १ ख ५४०७ र ना ३ ख ४५८७ नम्बरका टिपरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगोले जलेको अर्को एउटा टिपरको भने नम्बर पहिचान हुन सकेन । दुर्घटनापछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विराटचोकदेखि बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रलाई प्रदर्शन गर्न नदिने उद्देश्यले बिहान ११ः१५ बजेबाट जारी गरेको निषेधाज्ञा राति ८ बजेदेखि हटाएको छ ।

साँझ सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षीय बैठक बसेर सहमति भएपछि सो क्षेत्रको स्थिति सामान्य बनेको कोसीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागार्इंले बताउनुभयो । बैठकपछि तत्कालका लागि दुर्घटना भएको सडकखण्डमा टिपर चलाउन प्रतिबन्ध लगाइएको छ ।
नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनबीच संयुक्त बैठक भएको थियो । बैठकले टिपर चलाउन रोक लगाएको हो । बैठकमा बालिकाको शवलाई सामुहिक श्रद्धाञ्जलि दिने, चालकलाई हँदैसम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएको चापागाईंले जानकारी दिनुभयो । सर्वपक्षीय छलफलपछि सहमति जुटेका कारण बालिकाका आफन्त शव बुझ्न सहमत भएका छन् । शवलाई शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ । रासस

प्रकाशित मिति: २०१९-०१-२९ , समय : ११:२३:१४ , ५ वर्ष अगाडि