Enepal Patra Pvt. Ltd. , ३७३ पटक हेरिएको
काठमाडौँ, २ वैशाख । मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस ९कोभिड–१९० कहरकै कारण अधिवेशन अघिल्लो साता अन्त्य गरिएको छ । तर विपद्को समयमा संसद्को भूमिका आवश्यक रहेको भन्दै मिनी संसद् सञ्चालनको माग भइरहेको छ । संसदीय प्रणाली अवलम्बन गरेका कतिपय देशले यस्तो अभ्यास गरिरहेका छन् ।
‘भर्चुअल संसद्’को माग बढेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार समिति सभापतिहरूसँग परामर्शसमेत गर्नुभएको छ । अघिल्लो साता नै प्रतिनिधि सभाको अर्थ समितिले अनौपचारिक रूपमा यो अभ्यास प्रारम्भ गरेको थियो । औपचारिक बैठक राख्ने तयारी भए पनि नियमावलीका प्रावधान लगायतमा प्रश्न उठाइएपछि औपचारिक बैठक अगाडि बढ्न सकेन ।
भर्चुअल संसद्को मागमा नियमावली बाधक रहेको तर्क अगाडि सारिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मङ्गलबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । विपद्को अवस्थामा संसद्को भूमिकालाई कसरी अगाडि बढाउने र कस्तो विधि अपनाउने भन्दै सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो । कार्य व्यवस्था परामर्श समितिले सदनको कार्यसूची लगायतमा छलफल गर्ने गर्छ ।
सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सभामुखको निर्देशनमा मङ्गलबार कार्य व्यवस्थाको बैठक बोलाइएको जानकारी दिनुभयो । योगीले भन्नुभयो, ‘‘अधिवेशन पनि छैन । संसदको भूमिकाको माग पनि भइरहेको छ । यिनै समसामयिक विषयमा परामर्शका लागि सभामुखबाट बैठक आह्वान भएको हो । ’’
प्रकाशित मिति: २०२०-०४-१४ , समय : ११:०४:०१ , ४ वर्ष अगाडि