तीन नगरको विपद् कोषमा डाक्टर शर्माको ३० लाख ३६ हजार सहयोग

Enepal Patra Pvt. Ltd. , २०९८  पटक हेरिएको

मोरङ, २७ चैत । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नोवेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डाक्टर सुनील शर्माले मोरङका तीन वटा नगरपालिकालाई नोवेल कोरोना भाइरस विरुद्ध लड्न नगरहरूले गठन गरेको राहत कोषमा ३० लाख ३६ हजार रुपियाँ सहयोग गर्नु भएको छ ।
शर्माले बिहीबार बेलबारी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा वेलवारी नगरपालिकालाई ११ लाख ७५ हजार रुपियाँ ,सुन्दरहरैचा नगरपालिकालाई ८ लाख ७५ हजार र पथरीशनिश्चरे नगरपालिकालाई ९ लाख ८६ हजार रुपियाँ सहयोग गर्नु भएको हो । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकाल, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राईले शर्माको सहयोग चेक मार्फत जिम्मा लिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डाक्टर शर्माले आफ्ना हजुरबुबा पनि ३९ वर्षको उमेरमा विफरको महामारीबाट बित्नु भएको संस्मरण गर्दै महामारी विरुद्ध लड्न आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँ तथा नगरपालिकालाई सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो – यो विपत्तिमा सबैले राजनीति भन्दा उठेर विपद्को सामना गरौं । बाँचियो भने चु्नाव चिन्हको राजनीति फेरि गरौंला । कोभिड(१९) कोरोना भाइरस साझा समस्या भएको बताउँदै डाक्टर शर्माले जापानले आक्रमण गर्दा चीनमा परस्पर बिरोधी दलहरू एक भएर जापानलाई पराजित गरेको बताउनु भयो । शर्माले कानेपोखरी गाउँपालिकाले त्यो भन्दा ठूलो बैरभाव प्रस्तुत गरेको उल्लेख गर्दै राजनीतिक दल फरक भएपनि विपत्तिको सामना गर्न दलको घेरा भित्रै खुम्चिएर असम्भव भएको बताउनु भयो । शर्माले देश युद्धमा हुँदा, प्राकृतिक विपत्तिमा हुँदा र महामारीमा हुँदा चुनाब चिन्ह बिर्सिनु पर्ने बताउनु भयो ।
सुन्दरहरैचाका नगरप्रमुख शिवप्रसाद ढकालले कारोना भाइरसको संक्रमण फैलिन नदिन तीनै तहको सरकार, नागरिक समाज ,दल र सरोकारवाला सबै एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो ।
बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले विपद्को समयमा प्राप्त हुने सबै खाले सहयोग लिन नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो – महामारीको रंग हुन्न । त्यसैले साझा समस्याका रुपमा सामना गर्नुपर्छ । राहत हस्तान्तरणका अवसरमा प्रदेश सांसद शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौला लगायत कांग्रेस र नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कानेपोखरीद्वारा राहत अस्विकार
यसैबीच कानेपोखरी गाउँपालिकाले भने डाक्टर शर्माले प्रदान गर्नु भएको राहत वापतको ५ लाख रुपियाँको चेक लिन अस्विकार गरेको छ । १ बजे प्रदान गरिने भनेर पत्रकारलाई बोलाइएको राहत वितरण कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई र सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकाल डेढ बजे बेलबारी नगरपालिकाको सभाहलमा पुग्नु भएको थियो । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी आफ्नै कार्यकक्षमा हुनुहुन्थ्यो ।
बुधबार तीन वटा नगर र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र डाक्टर शर्मा बीच सहयोग सम्बन्धमा छलफल भएको थियो । छलफलमा पालिका प्रमुखहरू राहत प्राप्त गर्ने विषयमा सकारात्मक भएपछि बिहीबार सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम तय गरिएको डाक्टर सुनील शर्माले बताउनु भयो । बिहीबार पनि बेलबारी र पथरीशनिश्चरेका नगर प्रमुखले पटक पटक फोन गर्दा समेत कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्लेले नआउने सूचना दिनुभएपछि कार्यक्रम ३ घण्टा ढिलो गरी आयोजना गरिएको थियो ।
मलाई नोवेलका प्रतिनिधिले जानकारी गराएको छैन् – अध्यक्ष काफ्ले
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले डाक्टर सुनील शर्मा र उहाँका कुनै प्रतिनिधिले फोनमा सम्पर्क गरेर राहत लिन नबोलाएको बताउनु भएको छ । काफ्लेले भन्नुभयो – सहयोग लिन्न भन्ने कुरै छैन् । छिमेकी नगरका नगर प्रमुखले गरेको सुचनाको भरमा बेलबारी कुद्ने कुरै भएन । उहाँले भन्नुभयो –डाक्टर शर्मा र नोवेलका कुनै पनि आधिकारिक ब्यक्तिले सूचना दिएको भए जान सकिने थियो । बिहीबार नै गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले विज्ञप्ति सार्वजनिक गर्दै नोवेल शिक्षण अस्पतालले सहयोगका लागि सूचना नगरेको जानकारी गराउनु भएको छ । विज्ञप्तिमा एनआइसी एसिया रमाइलो शाखाको खाता नं. डि ३ सी ए ०००४५५७५२४०३ नं.सहयोग गर्न अनुरोध गरिएको छ । हेर्नुहोस विज्ञप्ति

प्रकाशित मिति: २०२०-०४-०९ , समय : २०:२९:१३ , ४ वर्ष अगाडि