फ्रान्सबाट आएकी एक युवतीमा कोभिड–१९ पोजेटिभ

Enepal Patra Pvt. Ltd. , ७१०  पटक हेरिएको

काठमान्डाै, १० चैत ।  काठमाडौँ र फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यसबेला उनलाइ कोरोनाको कुनै लक्षण नदेखिए पनि होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको पत्रकार सम्मेलनमा जनाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धैर्य नगुमाउन र सावधानी अपनाउन सबैलाई अपिल गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: २०२०-०३-२३ , समय : १५:०७:४२ , ४ वर्ष अगाडि