दुई किलोमिटरसम्म फैलिएको तामाकोसी बाधले आशा जगाउदैँ

Enepal Patra Pvt. Ltd. , ६१०  पटक हेरिएको

कैलाश लामा

चरिकोट दोलखा, ९ चैत । दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माणाधीन बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाको बाँधको परिक्षण सफल हुँदै गएको छ ।

एक सय मिटर लम्बाइ र २२ मिटर उचाइ भएको बाधमा गत चैत ३ गतेबाट पानी जम्मा गर्न सुरु गरिएकोमा हालसम्म १५ मिटर उचाइसम्म पानी भरिएको छ भने करिब दुई किलोमिटर क्षेत्रफलसम्म पानी जम्मा भएको छ ।

समुद्री सतहबाट एक हजार ९८७ मिटरको उचाइसम्म पानी जम्मा भएको र हालसम्म बाधमा कुनै समस्या नआएको तामाकोसी आयोजनाका प्रमुख कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

चार वटा रेडियल गेट मध्ये तीन वटा पुरै बन्द गरेर र एउटा रेडियल गेटबाट एक तिहाइ पानी खोलामा बग्न दिएर बाधमा पानी जम्मा गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले बाधमा दिउसो मात्रै पानी जम्मा गर्ने र रातको समयमा पानी बग्न दिइएको बताउनुभयो । हालसम्म बाधमा २० लाख घनमिटर पानी जम्मा भएको छ ।

२०७२ सालको भुकम्पले बाध भासिएपछि बाधलाई ट्रिटमेन्ट समेत गरिएको थियो । समुद्री सतहबाट एक हजार ९७२ मिटरको उचाइमा रहेको यो बाधमा डिस्याण्डरमा पानी पठाउनका लागि ६ वटा इन्टेक गेट बनाईएको छ । जहाँ तीनवटा गेटबाट डिस्याण्डरमा पानी छोडेर बालुवा थिग्य्राउने काम हुनेछ । डिस्याण्डर पनि परिक्षणका लागि तयारी अवस्थामा रहेको र सोमबारबाट परिक्षण सुरु हुने आयोजनाले जनाएको छ ।

डिस्याण्डरबाट आठ किलोमिटरको हेडरेस टनेल र ६८३ मिटरको भर्टिकल सुरुङ हुँदै पावर हाउससम्म पानी लगेर विद्युत उत्पादन गरिनेछ ।

पेनस्टकको काममा पनि सफलता मिल्दै, ६१ प्रतिशत सम्पन्न

आयोजनकै निकै महत्वपूर्ण र जटिल मानिएको ३१० मिटरको माथिल्लो भर्टिकल पेनस्टक पाइप र ३७३ मिटरको तल्लो भर्टिकल पेनस्टक पाईपको कामले पनि गति लिएको छ ।
सबैभन्दा कठिन मानिएको यी सुरुङहरुमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोसी आयोजनाको उत्पादन मिति समेत पटकपटक पछि धकेलिएको छ ।

करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा चैतको पहिलो सातासम्म माथिल्लो भर्टिकल साफ्टमा १५६ मिटर र तल्लोमा २६० मिटर पाइप जडान सकिएको प्रबक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।

नौँ महिनाको अन्तरालमा ४१६ मिटर पेनस्टक पाइप जडान गर्न सफल आयोजनामा यहीँ गतिमा काम हुने हो भनेपनि बाकी २६७ मिटरको भर्टिकल साफ्टमा पेनस्टक राख्ने काम सकाउन अझै पाँच महिना लाग्छ । तर पेनस्टक जडानको क्रम बढ्दै जाँदा कामको गति बढ्ने प्रबक्ता डाक्टर न्यौपाने बताउनुहुन्छ ।

हालसम्म भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा ५० दशमलब ३२ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने अष्ट्रियन कम्पनी एन्द्रिजले तल्लो भर्टिकल साफ्टमा ७० प्रतिशत पेनस्टक जडान गरेको छ ।

दुवै कम्पनीले गरी कुल जडान गर्नु पर्ने ६८३ मिटर पेनस्टक पाइपमा हालसम्म ६१ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेका छन् । पाँच मिटर लम्बाइ र २७ टन तौल सम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

भारतीय कम्पनीको काम सुस्त

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रोमेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाई गरेको छ । पेनस्टक पाइप राख्ने भर्टिकल सुरुङ लट नम्बर १ को चिनिया ठेकेदार सिनो हाइड्रोले २०७२ सालको भुकम्प अघि नै सकाएको भए पनि पेनस्टक पाइप ल्याउने र जडान गर्ने जिम्मा पाएको टेक्सम्याको रेल्वे इन्जिनीयरिङले कामको गति बढाउन नसक्दा माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप जडानमा ढिलाई भएको हो । टेक्सम्याकोले यस अघि पनि भुकम्प, खाडिचौर–चरिकोट सडक लगाएको कारण देखाई पेनस्टक पाइप ढुवानीमा ढिलाई गरी आयोजनालाई पछि धकेल्न बाध्य पारेको थियो ।

तामाकोसी आयोजनाले उक्त कार्य अघि बढाउन लट नम्बर ३ का ठेकेदार एन्द्रिज हाइड्रो तथा लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनीयरिङसँग त्रिपक्षीय सम्झौता गरी ३७३ मिटरको तल्लो ठाडो सुरुङमा पाइप राख्ने कामको जिम्मा लट नम्बर ३ का ठेकेदार एन्द्रिज हाइड्रोलाई दिने सहमती गरेका थियो । तर टेक्सम्याको रेल्वेले ३१० मिटरको माथिल्लो सुरुङमा पेनस्टक जडान गर्ने काममा समेत ढिलासुस्ती गर्दै आएको छ । संगै काम सुरु गरेको एन्द्रिजले ७० प्रतिशत पेनस्टक जडान सम्पन्न गर्दा टेक्सम्याको रेल्वे इन्जिनियरिङले ५० प्रतिशत पेनस्टक जडान गरेको छ ।

साउनमा पहिलो युनिट

समग्रमा माथिल्लो तामाकोसी आयोजनको ९९ दशमलब ४ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको मुख्य सुरुङमा कङक्रिट लाइनिङङको काम करिब सम्पन्न भएको छ । हाल यसै सुरुङको आवश्यक ठाउँहरुमा केमिकल ग्राउटिङको काम समेत भैरहेको छ ।

विद्युतगृहको काम सम्पन्न भएको छ । प्रसारण लाइन अन्तर्गतको एक सय २७ वटा टावर सहित ४७ किलोमिटरको तार तान्ने काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । चार वटा मल्टि सर्किट टावर भने बन्न बाकि छ ।

रामेछापको फुलासीमा नर्माण भइरहेको १३२ र २२० केभीको सबस्टेशनको सिभिल निर्माणको काम अन्तिम चरनमा पुगेको छ । सबस्टेशनको सबै काम असारभित्र सम्पन्न गर्ने गरि काम भैरहेको उल्लेख गर्दै प्रबक्ता डाक्टर न्यौपानेले जेठको अन्तिमसम्म सबै पाइपहरुको जडान कार्य सकि पाइपहरुमा प्रेसर टेष्ट सुरु गर्ने र त्यसपछि सुरुङमा वाटर रन गरि परिक्षण गर्दै साउनसम्म पहिलो युनिट विद्युत उत्पादन गर्ने बताउनुभयो ।

पिकिङ रन अफ रिभरको ढाचामा निर्माण हुने यस आयोजनाबाट पहिलो चरणमा दुई हजार २८१ गिगावाट घण्टा अर्थात २ अर्ब २८ करोड युनि विद्युत उत्पादन हुने छ ।
ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने व्याज, प्रशासनिक खर्च लगायतका कारण व्याजसहित ४९ अरबको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अरब पुग्ने अनुमान छ ।

फोटो क्याप्सन : दोलखाको विगु गाउँपालिका स्थित लामाबगरमा निर्माण गरिएको माथिल्लो तामाकोसी आयोजनाको बाधमा पानी जम्मा हुँदा यस्तो देखियो ।

(गाेरखापत्र अनलाईनवाट)

प्रकाशित मिति: २०२०-०३-२२ , समय : १२:५१:२२ , ५ वर्ष अगाडि