आधा उत्पादन घट्यो महको

Enepal Patra Pvt. Ltd. , ६७४  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, १ चैत । मोरङमा यो वर्ष महको उत्पादन घटेको छ । गत वर्ष मोरङमा ५० हजार क्विन्टल मह उत्पादन भएको नेपाल मौरीपालन महासङ्घ मोरङको तथ्याङ्कमा उल्लेख छ ।
यो वर्ष मौरीले मह जम्मा गर्ने मुख्य मौसममा अत्यधिक चीसो भएकोले महको उत्पादन घटेको ब्यावसायिहरूको भनाई छ । त्यति मात्र होइन । यो वर्ष लामखुट्टे जन्य डेंगु र मलेरियाको प्रकोप विरुद्ध गाउँ गाउँमा विषादी छर्ने अभियान सञ्चालन हुँदा मौरीले सक्रिय भएर मह जम्मा गर्न नपाएको महासङ्घ मोरङका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो ।
हाल सम्मको उत्पादन हेर्दा ५० प्रतिशतले उत्पादन घटेको छ । जङ्गलको स्रोत बाँकी रहेकोले अरु १५ प्रतिशत उत्पादन बढ्न सक्ने मौरीपालक किसानहरू बताउँछन् । उर्लाबारी स्थित मेलिफेरा मौरीपालन सहकारी संस्थाका सदस्यहरू समेत उत्पादन घटेपछि निरास छन् । लेकाली मौरीपालन कृषि समूह उर्लाबारी – ४ आइतबारेका सञ्चालक भोलाराज पोख्रेलले भन्नुभयो –‘गत वर्ष ७० घार मौरीबाट १ हजार २ सय किलो मह उत्पादन भएको थियो । यो वर्ष ५ सय किलो मात्र उत्पादन भयो । अब जङ्जली स्रोतबाट बढीमा १ सय किलो उत्पादन हुन सक्छ ।
पोख्रेलको मात्र होइन । महासङ्घका अध्यक्ष खतिवडाका ३ सय घार मौरीबाट गत वर्ष २ हजार किलो मह उत्पादन भएकोमा यो वर्ष ६ सय किलो मात्र उत्पादन भएको छ । उहाँले भन्नुभयो – यो वर्ष थप ६ सय किलो उत्पादन हुनसक्छ ।
ब्यावसायिक रुपमा मौरीपालन गरिरहेका उर्लाबारीका किसानहरूले यो वर्ष देखि ब्यवसाय अझ बिस्तार गरेका छन् । यो वर्ष मात्र नगरपालिकामा १४ वटा नयाँ फर्म दर्ता भएकाछन् । उर्लाबारी नगरपालिकाले नगरका मौरीपालक किसानहरूको सहकारी संस्थालाई अनुदानमा सहयोगी सामग्री उपलब्ध गराएपछि किसानहरू मौरीपालनमा आकर्षित भएका हुन् ।
उर्लाबारी –२ सिरुझारका किसान रमेश खड्काले भन्नुभयो –‘गत वर्ष बजारको अभाव थियो । यो वर्ष माग उच्च छ , तर उत्पादन घट्यो । खड्काले गत वर्ष ५० घार मौरीबाट ७ हजार किलो मह उत्पादन गर्नु भएको थियो । यो वर्ष उहाँको पनि आधा उत्पादन घटेको छ । खड्काले भन्नुभयो – गत वर्ष मह नबिकेर वर्षायाममा मौरीलाई खुवाएको थिएँ । यो वर्ष माग धेरै थियो , उत्पादन आधा घट्यो ।
मोरङमा महासङ्घ सँग आवद्ध किसानले जम्मा १ हजार १३७ घार मौरी पालेका छन् । महासङ्घसँग आवद्ध नभएका किसानको सङ्ख्या पनि ५ सय बढी भएको महासङ्घका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो । तर, आवद्ध नभएका किसानसँग पनि महासङ्घले सहकार्य गरिरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २१:१६:५६ , ४ वर्ष अगाडि