कागती खेतीबाट वार्षिक १५ लाख रुपियाँ आम्दानी

Enepal Patra Pvt. Ltd. , १३६२  पटक हेरिएको

हरि कोइराला
लेटाङ(मोरङ),१ चैत । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपियाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि ३ वर्षयता वार्षिक १५ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ ।
वस्तीले आफ्नो नीजि जग्गामा मद्रासी जातको कागती खेती गर्नु भएको छ । उहाँले २०७० साल देखि कागतीकोे ब्यावसायिक खेती सुरु गर्नुभएको हो । विरुवा रोपेको तेस्रो वर्ष देखि आम्दानी लिन थालेको उहाँको भनाई छ । वस्तीले भन्नुभयो – २०७३ मा ३० टन उत्पादन भयो । ०७४ मा ४० टन कागती निस्क्यो । २०७५ सालमा असिनाले चिचिला झारिदियो । त्यो वर्ष १० टन मात्र कागती उत्पादन भयो । यो वर्ष उहाँले ३० टन कागती निकालि सक्नुभयो । अझै ४÷५ टन निस्किने वस्तीको भनाई छ ।
३ बिगाहामा कागती खेती गरिरहनु भएका वस्तीले अझै बजारको माग अनुसार कागती उत्पादन गर्न सक्नु भएको छैन् । उहाँले भन्नुभयो – मेरा जस्तै बगान २ सय वटा जति भए भने बल्ल माग धान्न सकिन्छ । उहाँ आफै पनि काममा उत्तिकै खट्नु हुन्छ । कामदारसँगै लागेर कागती टिप्नु हुन्छ र बिक्रीका लागि इटहरी पु¥याउनु हुन्छ । २ जना कामदारले वर्षभरिका लागि रोजगार पाएकाछन् । त्यस्तै १० जना कामदारले ४५ दिन रोजगार पाउँने गरेका छन् । दैनिक १० जना कामदारले डेढ टन कागती टिप्ने गरेको वस्तीको भनाई छ ।
उहाँको आफ्नै गाडी छ । गाडीमा हालेर इटहरी पु¥याउनु हुन्छ र बिक्री गरेर २\३ बजे सम्ममा बगान आइ पुग्नुहुन्छ । बजारको अभाव नभएकोले मूल्य नपाउने चिन्ता छैन । उहाँले भन्नुभयो – विराटनगर, धरान र काठमाडौं देखि पनि कागती माग्दै आए । तर, दिन सकेको छैन । कागतीको अथाहा बजार भए पनि उत्पादन गर्न नसकेको वस्तीले बताउनु भयो । माग उच्च भएपछि उहाँले कागती खेती बिस्तार गर्न २० हजार बिरुवाको नर्सरी राख्नु भएको छ । खेती बिस्तारसँगै बेलबारी नगरपालिकाले समेत बिरुवाको माग गरेकोले नर्सरी समेत बिस्तार गरिरहेको उहाँले बताउनु भयो ।
सग्ला, राम्रा ठूला दाना कागती बिक्रीका लागि बजार पु¥याउनु हुन्छ भने साना दाना कागती अचारका लागि स्थानीय घरेलु उद्योगले लाने गरेका छन् । अचार उद्योगका लागि लेटाङ नगरपालिकाले सहयोग गरिरहेको छ ।
कागती खेतीबाट राम्रो आर्थिक लाभ लिइरहेको देखेपछि वस्तीका छिमेकी वीरभक्त राईले पनि ३ विगाहामा नै ब्यावसायिक कागती खेती सुरु गर्नु भएको छ । जाँतेको रुखो खेतमा बाली चयन गर्न सक्दा राम्रो आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरिरहनु भएका वस्तीलाई सिंचाईको समस्या छ । तर , तीन तहका सरकार भए पनि वस्तीको पौरखलाई कुनै सरकारले नजीक बाट हेर्न भ्याएका छैनन् ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २०:३३:२४ , ४ वर्ष अगाडि