श्रीमान वेपत्ता भएका महिलालाई लैनो भैंसी दिनुहोस – लिम्बू

Enepal Patra Pvt. Ltd. , ८७३  पटक हेरिएको

हरि कोइराला
लेटाङ(मोरङ), ३० फागुन । संविधान सभा सदस्य डिगबहादुर लिम्बूले विकास निर्माणका काममा राजनीति भन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मोरङको लेटाङ नगरपालिकाको छैटौं नगरसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले अहिले तीन तहका सरकारले विकास निर्माणका काम गरिरहेको सन्दर्भ जोड्दै भन्नुभयो – विगतको सरकार र जनप्रतिनिधिले गरेका कामलाई पनि नबिर्सिन आग्रह गर्छु । लिम्बूले नगरपालिकाले गरेका कामको पनि आलोचना गर्नुभयो । उहाँले भन्नुभयो – श्रीमान वेपत्ता भएका दिदी बहिनीका लागि पाडा पाडी, बाख्राको पाठोृ होइन, लैनो गाई वा भैंसी दिनुहोस । ताकि उहाँहरूले दूध बिक्री गरेर घर ब्यबहार चलाउन सकून । मोरङ कांग्रेस सभापति समेत रहनु भएका लिम्बूले बहुमतको दम्भ नदेखाई काम गर्न नगर प्रमुख शंकर राईलाई आग्रह गर्दै भन्नुभयो – जनताले हार्दैनन । दल र नेताको मात्र हार जित हुन्छ । जित स्थायी हुँदैन । ५ वर्षका लागि मात्रै हो । ’
उहाँले कर्मचारी स्थायी सरकार भएको चर्चा गर्दै कर्मचारीसँग मिलेर बिकास निर्माणका काम छिटो र छरितो ढंगबाट सम्पादन गर्नु पर्नेमा जोड दिनु भयो । जन प्रतिनिधिले कर्मचारीलाई घुस दिएको घटनाले आफूलाई चकित बनाएको बताउँदै लिम्बूले त्यस्ता घटनालाई निरुत्साहित गर्न अनुरोध गर्नु भयो ।
प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरले प्रदेश सरकारले लेटाङ र आसपासका क्षेत्रमा डेढ अर्वका विकासे कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । विकासका लागि अब कसैले सिंशदरबार जानु नपर्ने बताउँदै उहाँले भन्नुभयो – काम पारदर्शी हुनुपर्छ ।
यसै बीच उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को वजेटबाट माघ मसान्त सम्ममा ३१ प्रतिशत रकम मात्र खर्च गरेको छ ।
शुक्रबार भएको नगरको छैटौं नगर सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै नगर उप प्रमुख कृष्णकुमारी निरौलाले खर्च सम्बन्धि विवरण सार्वजनिक गर्नु भएको हो । नगरले चालु वर्षको ५४ करोड ३२ लाख २७ हजार रुपियाँ बजेट मध्ये पूर्वाधार विकासमा २२ दशमलव ८ प्रतिशत,सामाजिक विकासमा ४१ दशमलव ४५ प्रतिशत,आर्थिक विकासमा १५ दशमलव ८ प्रतिशत रकम खर्च गरेको छ । यस्तै सुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १३ दशमलव ९७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा ४० प्रतिशत रकम खर्च भएको नगर उप प्रमुख निरौलाले बताउनु भयो । निरौलाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि ३ करोड ४५ लाख ७० हजार रुपियाँको वजेट प्रस्तुत गर्नुभयो ।
गत असारमा भएको पाँचौ नगर सभाले तय गरेका कतिपय कार्यक्रमहरू सम्पन्न गर्न नसकेपछि नगरपालिकाले बजेट रकमान्तर गरी विकासका नयाँ कार्यक्रम तर्जुमा गर्न छैटौं नगरसभाको आयोजना गरेको हो । पुरक बजेटबाट २ करोड १६ लाख ३० हजार रुपियाँ पूर्वाधार विकासमा खर्च गरिने भएको छ । यस्तै सामाजिक विकासमा ५९ लाख ४० हजार,आर्थिक विकासमा ९ लाख, सुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ४७ लाख,कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख शङ्कर राईको सभापतित्वमा भएको नगर सभा उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधिले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०३-१३ , समय : २१:०३:४४ , ४ वर्ष अगाडि