सरकारले चीनका लागि राजदूत बदल्यो, लिलामणि फिर्ता, महेन्द्र सिफारिस

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय

Enepal Patra Pvt. Ltd. , ३४४  पटक हेरिएको

काठमाडौं,१९ फागून । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले पूर्व मूख्यमन्त्रीसमेत रहेका पौडेललाई फिर्ता बोलाएको हो ।

पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशनसमेत दिइएको छ ।

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय गरिएको पनि बुझिएको छ ।

सरकारले पौडेलको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नयाँ राजदूतमा सिफारिस गरेको छ ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि पाण्डे राजदूतमा सिफारिस भएका थिए । तर उक्त निर्णय कार्यान्वयन हुनुअघि नै ओलीको सरकार ढलेका कारण पाण्डेले नियुक्ति खान पाएका थिएनन् ।

प्रधानमन्त्री ओली बुधबार हुने मृगौला प्रत्यारोपणका लागि सोमबारदेखि नै अस्पतालमा भर्ना हुँदैछन् ।

प्रकाशित मिति: २०२०-०३-०२ , समय : ०६:३६:०५ , ४ वर्ष अगाडि