सन्थाल बालबालिकालाई विद्यालय पोशाक वितरण गरिने

Enepal Patra Pvt. Ltd. , ११०४  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी,१५ फागुन । गीता मगर शेर्पा यतिबेला  मकाउमा हुनुहुन्छ । हरेक नेपालीको परदेश जानु रहर होइन ,बाध्यता हो । बिदेशमा २/४ पैसा बचाएपछि गीतालाई आफ्नो गाउँका लागि केही गर्नुपर्छ भन्ने भोक जागेर आयो ।
सहयोग त ठूलै गर्ने रहर हुन्छ ,मान्छेलाई । गीता त्यति धेरै धन कमाउन सक्ने पनि हुनु भएको छैन । त्यसैले उहाँले मोरङको उर्लाबारी –९ खोपीडाँडा स्थित प्रभात आधारभूत विद्यालयका लागि केही रकम छुट्याउने निधो गर्नुभयो ।
सबैले एउटै काम गर्छन । कि छात्रवृति कि अक्षय कोष निर्माण । गीताले सानो रकमबाटै आफ्नो विद्यालयका लागि सहयोग यात्रा आरम्भ गर्ने निर्णय गर्नुभयो । उहाँको निर्णय थियो – फागुन १५ गते परेको आफ्नो जन्मदिनको अवसरमा १५ जना सन्थाल समूदायका बालबालिकालाई विद्यालय पोशाक वितरण गर्ने ।
आफूले कखरा चिनेकोे प्रभात विद्यालयका सङ्कटापन्न अवस्थाका सन्थाल जातिका बालबालिकालाई उहाँले फागुन २२ विद्यालयको पोशाक उपलब्ध गराउने हुनु भएको छ । गीताले आफ्नी आमा मार्फत विद्यालयका १२ जना बालकलाई सर्ट पेन्ट र ३ जना बालिकालाई सर्ट फ्रक दिने घोषणा गर्नुभयो । बिहीबार नै सबै विद्यार्थीको नाप लिएर शुक्रबार देखि लुगा सिलाउन दिइने गीताकी आमा नरमायाले बताउनु भयो ।
बैदेशिक रोजगारमा रहनु भएकी गीताले भन्नुभयो– हामी विद्यालय पढ्दा वर्षमा एक पटक, त्यो पनि दशैंमा नयाँ लुगा लगाउन पाउँथ्यौं । आज पनि सन्थाल समूदायका बाल बालिकाको आर्थिक अवस्था सुधार भएको देखिन । त्यसैले आफू पढेको विद्यालयका बालबालिकालाई विद्यालय पोशाक दिने निर्णय गरेकी हुँ । जन्मदिनको नाममा हुने खर्च सामाजिक काममा लगाएको उहाँको भनाई छ । विद्यालयका लागि आर्थिक सहयोग र दातालाई जोड्ने काममा भने स्थानीय सञ्चारकर्मी तेजन खड्काको महत्वपूर्ण भूमिका रहेको विद्यालयका प्रधानाध्यापक मोहन चापागाँईले बताउनु भयो । खड्का पनि सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : २०:०६:२० , ४ वर्ष अगाडि