भोलि देखि लाइसेन्सको अनलाइन फारम खुल्ने

Enepal Patra Pvt. Ltd. , १९२६  पटक हेरिएको

काठमाडौं,२० माघ । यातायात व्यवस्था विभागले केही दिनदेखि अवरुद्ध रहेको लाइसेन्सको अनलाइन फारम बुधवारदेखि खुलाउने तयारी गरेको छ।

अनलाइन फारम प्रणली मोडिफाईको काम सकिन लागेकोले अन्य प्राविधिक समस्या नआए बुधवारदेखि सुचारु गरिने यातायात व्यवस्था विभागका एक प्राविधिकले जानकारी दिए।

अनलाइन फारमलाई व्यवसाय बनाएका केही व्यक्तिले छुट्टै एप्लिकेशनमार्फत स्वचालित रुपमा फारम भर्ने गरेको थाहा पाएपछि विभागले सूचना जारी गर्दै गत १६ गते अनलाइन फारम बन्द गरेको थियो।

‘राति १२ बजेदेखि उक्त एप्लीकेशनबाट स्वचालित रुपमा फारम भर्ने रहेछन्। उनीहरुले फारम भरे बापत सेवाग्राहीबाट ५ सयदेखि एक हजार रुपैयाँ लिने रहेछन्,’ उक्त प्राविधिकले भने।

पोखरा र बुटवलमा यस्तो समस्या देखिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। विभागले एउटा आइपी एड्रेसबाट धेरैमा ३ ओटामात्र फारम भर्न मिल्ने व्यवस्था मिलाउन लागेको हो।

प्रकाशित मिति: २०२०-०२-०४ , समय : १८:१६:३२ , ७ वर्ष अगाडि