प्रदेश नं. १ को नामाकरण पाँचौ अधिवेशनबाट

Enepal Patra Pvt. Ltd. , १२२५  पटक हेरिएको

विराटनगर, २० माघ । प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने भएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो । पाँचाँै अधिवेशन अर्थात् हिउँदे अधिवेशन यही माघ २३ गतेबाट शुरु हुने हुँदैछ । विसं २०७४ फागुन ३ गते गठन भएको प्रदेश सरकारले हालसम्म ४३ कानून निर्माण गरी गरिसकेको छ ।

पाँचाँै अधिवेशनबाट प्रदेशको नामलाई छिनोफानो लगाइने तथा नयाँ आठ विधेयक पारित हुनसक्ने बताइएको छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएका विधेयक प्रदेशसभामा दर्ता भएमा अधिवेशनमा कम्तीमा नयाँ १० विधेयक पारित हुनसक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

विसं २०७६ वैशाख १९ गते बसेको बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश भएको थियो । तेस्रो अधिवेशनले प्रदेशको राजधानी विराटनगरलाई अनुमोदन गरे पनि नामकरण गर्न सकेको थिएन ।

प्रदेश नं ३ वाग्मती, प्रदेश नं ४ गण्डकी र प्रदेश नं ६ कर्णाली प्रदेश र प्रदेश नं. ७ को सुदुरपश्चिम प्रदेश नामकरण भएका छन् । प्रदेश नं १, प्रदेश नं २, र प्रदेश नं ५ नामकरण हुन बाँकी रहेको छ । सबैको अपनत्व हुने र शिरोधार्य गर्न सक्ने नामको खोजीमा प्रदेश नं १ सरकारले राजनीतिक दलहरुसँग छलफल गरिरहेको छ ।

आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिक विविधता यस प्रदेशले बोकेको छ । चौध जिल्लाका १३७ स्थानीय तह प्रदेशमा रहेको छ । प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति सरिता थापाले प्रदेशको नाम सबैले अपनत्व ग्रहण गर्ने किसिमको हुनुपर्छ भन्नुभयो ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : ०९:३६:३६ , ४ वर्ष अगाडि