मत्स्य पर्यटनले पाहुनालाई आकर्षित गर्दै

Enepal Patra Pvt. Ltd. , १३३७  पटक हेरिएको

हरि कोइराला,

उर्लाबारी, १४ माघ । मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को बैशाखमा सुरु गरेको मत्स्य पर्यटन सहितको वृहत माछापालन यति बेला पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।
विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक जसो बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताउनु भयो । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ विगाहा जग्गामा ४ विगाहाको जलासय युक्त पोखरीमा माछापालन गरिरहनु भएको छ । वार्षिक २६० मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यवसाय सुरु गरेको उहाँहरूको भनाई छ । ४ विगाहाको एउटै जलासय क्षेत्रमा नौका बिहार गर्ने ब्यवस्था मिलाइए पछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
उहाँहरूले माछाका भुरा समेत आफै उत्पादन गर्न ४ वटा पोखरीमा भुराको नर्सरी राख्नु भएको छ । नर्सरी पोखरीमा रहु, नैनी, कमल,विगेट,सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् ।तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यौपानेले बताउनु भयो । २५ लाख रुपियाँ लगानी गरी पोखरी खनेका न्यौपाने र गौतमले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट २ लाख २० हजार रुपियाँ अनुदान पाए यता कुनै पनि सरकारी सहयोग पाउनु भएको छैन् । उहाँहरूले पोखरी परिसरलाई सुरक्षित गर्न ७ लाख खर्चेर तार घेरा समेत गरिसक्नु भएको छ ।
वार्षिक ५० लाख रुपियाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यवसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक ८ हजार रुपियाँ खर्च भइरहेको बताउनु हुन्छ । माछाको दानापानी ब्यवस्थापन होटल सञ्चालनका लागि कम्पनीले ६ जनालाई रोजगार दिएको छ । ब्यवसायी न्यौपानेले भन्नुभयो– पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं । यद्यपि २० लाख रुपियाँको माछा बजार गयो । विषय वस्तुको तालिम र अध्ययन बिना नै ब्यवसायमा हात हालेकोले लक्ष्य अनुसार उत्पादन लिन नसकेको न्यौपाने र गौतमको भनाई छ ।
माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हाल सम्म २ करोड ५० लाख रुपियाँ खर्च गरिसक्नु भएको छ । ११ विगाहा जमीन भित्र बनभोज स्थल,बाल उद्यान,फेमिलि टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माण धमाधम निर्माण भइरहेका छन् । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा कुल ५ करोड रुपियाँ लगानी हुने ब्यवसायी न्यौपानेले बताउनु भयो । पूर्वाधार निर्माण सम्पन्न भएपछि कम्तीमा २५ जनाले रोजगार पाउने गौतमले बताउनु भयो । उहाँहरूले माछापोखरीको बरिपरि १ विगाहा ८ कट्ठा जग्गामा २० प्रजातिका सीमसार युक्त वनस्पति रोपिसक्नु भएको छ । त्यसैगरी मत्स्यपालन क्षेत्रमा ६० वटा हाँस, १५० वटा स्थानीय जातका कुखुरा समेत पाल्नु भएको छ ।
कम्पनीले मत्स्यपालनको अवलोकन गर्न आउने पाहुनालाई ईच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने,किन्न दिने र आवासका लागि होटलको समेत व्यवस्थापन गरिएको सञ्चालक गौतमले बताउनु भयो । नेचुरल फन पार्कका रुपमा विकसित भइरहेको मत्स्य पर्यटन क्षेत्रमा हाल दैनिक ५० देखि ७० जना सम्म स्थानीय पाहुना आइरहेका छन् । ग्राहकको रोजाईका माछा झिकेर ग्राहककै माग अनुसारको स्वादमा खान दिने ब्यवस्था मिलाइएको सञ्चालक गौतम र न्यौपानेले बताउनु भयो ।
चालु वर्ष उहाँहरूले ६० लाख रुपियाँको माछा बिक्री गर्ने लक्ष्य राख्नु भएको छ । गत साउन यता उहाँहरूले २८ लाख रुपियाँको माछा बिक्री गरिसक्नु भएको छ । बजारमा माछाको माग उच्च छ , तर माग अनुसार आपुर्ति गर्न सकेका छैनौं । उहाँहरूले भन्नुभयो – आफ्नो जग्गा छैन् । लिजमा पनि जग्गा पाइदैन । जग्गा उपलब्ध भए माछापालन अझ बिस्तार गर्ने योजना रहेको उहाँहरूको भनाई छ ।

प्रकाशित मिति: २०२०-०१-२८ , समय : ०८:१९:४९ , ४ वर्ष अगाडि